काठमाडौं। स्कुटरले ठक्कर दिएर घाइते बनाई सुन लुटपाट गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका–७ घर भएर ललितपुरको ठैव बस्ने ३० वर्षीय गंगे बहादुर तामाङ र सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय विनय तामाङ पक्राउ परेका हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीमाथि अनुसन्धान गर्दा अन्य चार जनाको योजनामा यो काम भएको बताएका छन्। बाँकी चार जनाको खोजी भइरहेको प्रहरीले बताएको छ।
५ असोजको राति १२ बजेतिर जावलाखेलस्थित चिडियाखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिक बा५२प १३९२ नम्बरको स्कुटरलाई अपरिचित स्कुटर चालकले ठक्कर दिए।
उक्त स्कुटरमा बाग्लुङ घर भएकी ३७ वर्षीय भीमकुमारी सिर्पाली सवार थिइन्।उनी उठ्न खोज्दै थिइन्, दुईवटा स्कुटरबाट चारजना युवकहरू झरेर उनको गलाबाट सिक्री चुँडाले। अनि, फरार भए।
सिर्पालीको स्कुटरलाई दुर्घटना गराएर लडाइ उनले गलामा लगाएको ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री त्यो समूहले लुटेका हुन् ।
दुर्घटना गराएर आफ्नो सिक्री लुटिएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिइन्। ठक्कर दिने नम्बर खुलेको भनिएको स्कुटरमाथि अनुसन्धान गर्दा सोमबार प्रहरीले एक जनालाई पक्राउ गर्यो।