सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले ठूलो मात्रामा विभिन्न ब्राण्डका भेप (विद्युतीय चुरोट) बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले (आज) सोमबार प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडीमा रहेको भेप खाग्दलबाट बरामद गरेको हो ।
तातोपानीबाट बाह्रबिसेतर्फ आउदै गरेको बोलेरो गाडीमा लुकाई छिपाई अवैध रूपमा ल्याउदै गरेको अवस्थामा सात हजार सात सय थान भेप बरामद गरिएको प्रहरीले जनाएको छ । जसको बजार मूल्य अनुमानित दुई करोड उनन्सत्तरी लाख पचास हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी जेसी शाहले जानकारी दिए । उनले भेप बोकेको बोलेरो र भेप लिएर आएका एक जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ३६ को रामकुमार श्रेष्ठ रहेको उनले जानकारी दिए ।