काठमाडौं । नेपालको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। औसत समयभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली चार प्रदेशमा विस्तार भएको हो ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरी कोशीबाट भित्रिएको मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग हुँदै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको जनाएको छ।
यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागले जनाएको छ।
सामान्यतया नेपालमा मनसुन जुन १३ मा प्रवेश गर्ने भए पनि यसपालि ६ दिन ढिला गरी मनसुन भित्रिएको थियो।
मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ।
यसपालिको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण महाशाखाले यसअघि नै गरेको थियो।
विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुनेछ।