अहिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनले राजनीति वृत्तमा सिंगो मुलुक तातेको छ । टोल टोलमा कांग्रेसका गफहरुले माहोल झनै बढाइरहेको अवस्था छ । सिन्धुपाल्चोक पनि देशको यो परिदृष्यबाट अछुतो छैन । यहाँ वडा, पालिकाको अधिवेशन सकेको कांग्रेस अब तत्काल क्षेत्र र प्रदेश अधिवेशनको तयारीमा जुटेको छ ।
असोज १२ र १३ गते सिन्धुपाल्चोकको व्यापारिक बजार मेलम्चीमा क्षेत्र र प्रदेशको अधिवेशन हुँदैछ । जसका लागि विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ता नेतृत्व हत्याउनदेखि कार्यसमिति र प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आ आफ्नो उम्मेदवारी घोषणा गर्नमा व्यस्त छन् । कोही मत मागिरहेका छन् । कोही आफ्जो उम्मेदवारीबारे मतदातालाई प्रष्ट्याउँदैछन् ।
यही क्रममा भगवान खड्काले सिन्धुपाल्चोक क्षेत्र नं २ को प्रदेश सभा १ मा सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आफूलाई किन जिताउने भन्नेबारे बोलेका छन् । उनको अपिल जस्ताको तस्तै ः
अहिले नेपाली कांग्रेसको १५औं महाधिवेशन चलिरहेको छ । सिन्धुपाल्चोकका सबै १०३ वटै वडा र १२ वटै पालिकामा अधिवेशन भव्यताका साथ सम्पन्न भयो । यो हाम्रो लागि गौरवको विषय हो ।
अब हामी क्षेत्रीय र प्रदेश अधिवेशनको तयारीमा जुटेका छौं । भोलि असोज १२ गते मनोनयन हुँदैछ । मैले यसपटक सिन्धुपाल्चोक प्रतिनिधिसभा २ प्रदेश सभा क का लागि नेपाली कांग्रेसको प्रदेश सभापतिको उम्मेदवारी दिने निर्णय गरेको छु । उसो त यो निर्णय मेरो एकल हैन । धेरै साथीहरुले मलाई अघि सार्नुभएकाले मैले कदम उचालेको हुँ । लामो समयदेखि पार्टीमा इमान्दार, लगनशील, पार्टीप्रतिको जिम्मेवारी, बफादारी, समर्पण अनि त्यागको नतिजा हो भन्ने मेरो ठम्माई छ ।
खासमा मेरो उम्मेदवारीका कारण र मलाई भोट हाल्नुपर्ने किन भन्ने विषयमा म केन्द्रीत रहन्छु ।
हामी अहिले बदलिएको कांग्रेस भने गर्वले छाति फलाईरहेका छौं । अहिलेको अवस्था भनेको गुट होइन, कांग्रेस एकताको एजेण्डा नै प्रमुख विषय हो । जसका लागि यो प्रदेशमा मात्रै हैन् जिल्लैभर कांग्रेसभित्रका सबै समूहलाई समान व्यवहारको जरुरत छ । व्यक्तिगत सम्बन्धभन्दा संस्थागत निर्णयलाई प्राथमिकता दिुनपर्ने अहिलेको अपरिहार्य अवस्था हो । त्यसैले “गुटमुक्त, एकताबद्ध र चलायमान कांग्रेस” भन्ने स्पष्ट प्रतिबद्धता नै मेरो प्रमुख एजेण्डा हो । यसैलाई मूल वाक्य ठान्दै म मेरो उम्मेदवारीमा अडिग रहन्छु ।
अहिलेको विधानले युवालाई किै अगाडि ल्याएको अवस्था छ । यो आवश्यक थियो, गरियो निक्कै राम्रो भयो । युवालाई अगाडि सार्नु, नेतृत्व तहमा ल्याउनु नै वर्तमान विश्व राजनीतिमा गर्विलो उदाहरण हो । अहिलेका युवा प्रविधिदेखि हरेक क्षेत्रमा अब्ब्बल हुन्छन् । १८–४० वर्षका युवालाई संगठनको नेतृत्वमा अवसर दिनु चुनौति होइन पार्टीका लागि नयाँ नयाँ अवसरको ढोका खोल्नु हो । मैले समग्रमा भन्नुपर्दा युवालाई संवाद र नेतृत्व विकास कार्यक्रमसँग जोड्दै विदेशबाट फर्किएकाको सीपलाई प्रयोग गरि नेपालमै रोजगारीको वातावरण सिर्जना गराउनु मेरो पहिलो ध्येय हुनेछ । जसले उद्यमशीलतालाई पार्टीसँग जोड्दै गाउँलाई अर्थतन्त्रमा अब्ब्ल बनाउन सकिन्छ ।
विडम्बना, यो सत्य मान्नुपर्छ अहिले कांग्रेस केवल रुखमा भोट हाल्ने दिनमा मात्रै खोजिन्छ । त्यस्तो गर्न नदिई त्यसलाई म सुरुदेखि नै सक्रिय बनाउने अभियानमा रहनेछु । हरेक वडामा संगठनको गतिविधि बढाउन तथा नयाँ क्रियााशील सदस्यता थपका लागि नियमित बैठकको प्रतिबद्धता जनाउँदछु ।
महिला, दलित, जनजाति र सबै समुदायको अर्थपूर्ण सहभागिता बनाई सबैलाई जोड्ने देश, सबै अट्ने कांग्रेसलाई अर्थपूर्ण रुपमा व्इवहारमा उतार्ने मेरो अर्काे प्रतिवद्धता हो । महिलालाई नेतृत्वमा थप अवसरका साथै दलित, जनजाति तथा पिछडिएका समुदायको प्रतिनिधित्व हुने गरि जागरणमूलक कार्यक्रम ल्याउने मेरो ठूलो इच्छा छ । जुन नेतृत्वपछि पहिलो प्राथमिकतामा रहन्छ ।
घरदैलोमा हरेक महिना कांग्रेसका अभियान, जनताको समस्या संकलन गरि समाधान गर्ने उपायको खोजी गरिनेछ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, पर्यटनलगायत स्थानीय समस्याको तथ्यगत अभिलेख उतारी जहाँ आवश्यक त्यहाँका लागि पहलकदमी तथा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई खबरदारी गर्ने काम अर्काे प्रमुख प्राथमिकतामा रहनेछ ।
शिक्षा तथा स्वास्थ्य अहिलेको प्रमुख जटिल समस्या हो । सामुदायिक विद्यालयको गुणस्तर सुधार गरि प्राविधिक तथा सीपमूलक शिक्षाका लागि मेरो आवाज सधैं बुलन्द रहनेछ । स्वास्थ्य चौकीमा औषधि तथा जनशक्ति सुनिश्चित गर्न पहलका साथै स्वास्थ्य बीमा र ज्येष्ठ नागरिकका लागि पार्टीको तर्फबाट आवाज सम्बन्धित ठाउँमा लैज म जनताको आवाज भएर उभिनेछु ।
सिन्धुपाल्चोक विपदको अति जोखिम जिल्लामा पर्दछ । यहाँ विपदपछि नेताहरु टुरिष्ट झैं आउँछन्, हेरेर जान्छन् । यो विश्वास दिलाउँछु जहाँ पर्छ त्यहाँ नेपाली कांग्रेस अघि सर्छ ।
बाढीपहिरोको जोखिम भएका बस्तीको पहिचान गरि विपद् पर्दा तत्काल परिचालन हुने कांग्रेस स्वयंसेवक समूह तत्काल खटाई मानवीय क्षति न्यूनीकरण गर्नु कांग्रेसको कर्तव्य ठानी परिचालन गराउन सबै संगठन तयारी हालतमा राख्ने मेरो विशेष प्राथमिकतामा परेको छ ।
अन्त्यमा विगतको निर्वाचनको वडा÷मतदान केन्द्रगत समीक्षा गर्दै कमजोर र बलियो क्षेत्रको तथ्यगत अध्ययन, मतदातासँग नियमित सम्बन्ध, उम्मेदवार चयनमा स्थानीय कार्यकर्ता र जनताको सुझाव लिने प्रणालीको विकास गरि कांग्रेसलाई खास कांग्रेस बनाउने मेरो अभियान हो । तर, यो प्रदेश अधिवेशनमा तपाईंको अमूल्य मत भने अत्यावश्यक छ ।
भगवान खड्का
सभापतिको उम्मेदवार सिन्धुपाल्चोक–२, प्रदेश सभा १