सिन्धुपाल्चोक । कुनै समय थियो सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ सेलाङका केही टोलवासी गाउँ पारी रहेको खेतमा पुग्न घुमाउरो बाटो पैदलमा तीन घण्टा लगाउँथे । खेतमा उत्पादन भएको मकै, धानलगायत बाली घर भित्र्याउन उस्तै सकस । उता लम्बेतान समय खर्च । यो समस्या विशेषगरी डाँडाटोल, मुखिया टोल, माथ्लो टोलवासीमा थियो । झण्डै ७० घरधुरीका लागि ।
तर, अहिले यो समस्याबाट मुक्ती पाएका छनु गाउँवासीले । जसको कारण हो झोलुंगेपुल । डाँडाटोलबाट जांगाती जोड्ने पुल बनेपछि अहिले गाउँवासीको दैनिकी फेरिएको छ । घर र खेत गर्न सहज भएको छ । समयको बचत भएको छ । गाउँका अगुवा टंकबहादुर सिलवालका अनुसार काल्चे खोलामा पुल बनेपछि गाउँवासीले झेल्दै आएको पुर्खाैंदेखिको समस्या समाधान भएको हो । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट १९६ मिटर लामो पुल बनेको उनले फरकपत्रिकालाई जानकारी दिए ।
उसो त यो पुलको मागसमेत प्रदेश सरकारसामू उनै टंकले गरेका थिए । उनै पहलमा यो पुल निर्माण भएको उनैको दाबी छ । १ करोड ४५ लाख रुपैयाँ खर्चिएको यो पुलले ३ भण्टाको समय १० मिनेटमै घटाइदिएको उनले बताए ।