काठमाडौं । एसएस फाउण्डेशन काठमाडौंले प्रहरीलाई विपदका बेला उद्धार कार्यमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएको छ। देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढिरहेका बेला फाउण्डेसनले प्रहरीलाई यस्तो सहायता गरेको हो ।
फाउण्डेशनले काठमाडौंको बत्तीसपुतलीस्थित प्रहरी वृत्त नयाँबानेश्वरलाई लाइफज्याकेट, सेफ्टी हेल्मेट, लाइफरिङ (रिङ ब्वाइ) लगायतका उद्धार उपकरण हस्तान्तरण गरेको छ। संस्थाका संरक्षक तथा समाजसेवी शोभित उप्रेती र अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रहरी वृत्तका प्रहरी अधिकारीहरूलाई उक्त सामग्री हस्तान्तरण गरे।
प्रतिकूल मौसमका कारण सम्भावित बाढी, डुबान तथा पहिरोजस्ता विपद्का घटना बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उद्धारमा प्रत्यक्ष खटिने सुरक्षाकर्मीलाई आवश्यक उपकरण उपलब्ध गराइएको फाउण्डेशनले जनाएको छ।
विपद्का बेला उद्धारकर्मी स्वयंको सुरक्षा पनि चुनौती बन्ने भएकाले लाइफज्याकेट, हेल्मेट र लाइफरिङजस्ता सामग्रीले उद्धार अभियानलाई थप सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एसएस फाउण्डेशनले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षाकर्मीलाई उद्धार सामग्री उपलब्ध गराएर विपद् व्यवस्थापनमा नागरिक संस्था र सुरक्षा निकायबीच सहकार्यको सन्देश दिएको छ।
फाउण्डेशनको सामाजिक अभियान उद्धार सामग्री हस्तान्तरणमा मात्र सीमित छैन। यसअघि पनि संस्थाले दोलखाको शैलुङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठन सहज बनाउन शैक्षिक तथा प्रविधिसँग सम्बन्धित सामग्री वितरण गर्दै आएको जनाएको छ।
प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला आवश्यक उपकरणसहितका सुरक्षाकर्मीको तयारीले उद्धार तथा राहत कार्यमा प्रभावकारिता बढाउन सक्ने देखिन्छ।