देउसीभैलोबाट १७ लाख बढी जुट्यो, थाङ्पाल भ्याली माविका कक्षा अब प्रविधिमैत्री

देउसीभैलोबाट १७ लाख बढी जुट्यो, थाङ्पाल भ्याली माविका कक्षा अब प्रविधिमैत्री

फरक पत्रिका

मंगलबार, मंसिर २ २०८३

देउसीभैलोबाट १७ लाख बढी जुट्यो, थाङ्पाल भ्याली माविका कक्षा अब प्रविधिमैत्री

सिन्धुपाल्चोक । तिहारमा रमाइलो गर्ने भन्दै उनीहरु एक ठाउँमा जम्मा भए । जो थिए स्थानीय समाजसेवी, अगुवा, सामाजिक व्यक्तित्व, जनप्रतिनिधि, कर्मचारी, वडाध्यक्ष, पूर्वविद्यालय अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थी अनि गाउँवासी पनि । रमाइलो मात्रै गर्ने उद्धेश्यले उनीहरु त्यत्तिकै भेला भएकाहैनन् । खास उद्धेश्य थियो अर्कै । त्यो हो विद्यालयका लागि सहयोग जुटाउने काम । त्यसका लागि बहाना बनेको हो देउसी भैलो कार्यक्रम ।
प्रमुख उद्धेश्य त्यतिबेला सफल भएको ठानियो जब अन्तिम दिनसम्म देउसी भैलो अभियानबाट १७ लाख २१ हजार रुपैयाँ बराबरको सहयोग संकलन भयो ।
हुन पनि ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको थाङ्पाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताए ।पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ स्थित बागमती प्रदेशको नमूना विद्यालयले डिजिटल विद्यालय निर्माणका लागि आयोजना गरेको कार्यक्रममा १० लाख ८१ हजार रुपैयाँ नगद र ६ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका स्मार्ट बोर्ड प्राप्त गरेको बताए ।
हाल विद्यालयमा २४ वटा कक्षाकोठा छन् । ती सबैलाई स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्न २४ वटा स्मार्ट बोर्ड आवश्यक पर्ने विद्यालयले जनाएको छ । अभियानको पहिलो चरणमा चालु वर्ष १० वटा स्मार्ट बोर्ड खरिद गर्ने लक्ष्य राखिएको छ ।
विद्यालयका प्रधानाध्यापक राजु तामाङका अनुसार ग्रामीण भेगका बालबालिकाले आधुनिक शिक्षा प्राप्त गर्न सहर धाउनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको हो । विद्यालयका सबै कक्षाकोठालाई स्मार्ट कक्षाकोठाका रूपमा विकास गर्ने योजनाअनुसार देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
संकलित रकम र प्राप्त सामाग्री विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाउन प्रयोग गरिने उनले बताए । अभियानमा साथ दिने अभिभावक, पूर्वविद्यार्थी, शुभेच्छुक तथा दाताप्रति अध्यक्ष सापकोटाले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित