आमायांग्रीमा यात्रा : आध्यात्मिक अभ्यास र आरोग्य पर्यटनसँग जोड्ने प्रयास

आमायांग्रीमा यात्रा : आध्यात्मिक अभ्यास र आरोग्य पर्यटनसँग जोड्ने प्रयास

फरक पत्रिका

मंगलबार, मंसिर २ २०८३

आमायांग्रीमा यात्रा : आध्यात्मिक अभ्यास र आरोग्य पर्यटनसँग जोड्ने प्रयास

सिन्धुपाल्चोक। हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा आध्यात्मिक पर्यटन यात्रा गरिएको छ । ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्राः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम नाम दिइएको सो यात्रामा ४१ जनाको सहभागिता थियो ।
न्यू भिजन नेपालको आयोजनामा, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागको सहयोग तथा हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा यात्रा सफल बन्यो ।
नेपालको हिमाली पर्यटनलाई योग, ध्यान र मौलिक संस्कृतिसँग जोडेर आरोग्य पर्यटनको नयाँ सम्भावना खोज्ने उद्देश्यले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित आमा याङ्ग्रीमा तीनदिने आध्यात्मिक तथा सांस्कृतिक पर्यटन कार्यक्रम सम्पन्न भएको हो।
कात्तिक २७ देखि २९ गतेसम्म सञ्चालित कार्यक्रममा योग, ध्यान र साउन्ड हिलिङसँगै मञ्जुश्री, कुमारी तथा नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रमले हिमाली गन्तव्यलाई आध्यात्मिक अभ्यास र आरोग्य पर्यटनसँग जोड्ने प्रयास गरेको छ।
प्रकृति, अध्यात्म, योग, ध्यान, स्वास्थ्य तथा नेपाली मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा योग अभ्यास, ध्यान, साउन्ड हिलिङ तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो ।
नेपाली मौलिक कला र नेवारी संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । सबनम खड्गीले मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने राजमती महर्जनले कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो । साथै राजमती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा योगी अशोक शर्मा भट्टले योग अभ्यास गराएका हुन् । कार्यक्रममा न्यू भिजन नेपालका महासचिव रूपक अर्याल र देवन श्रेष्ठले पनि योग तथा ध्यान अभ्यासमा सहभागीहरूलाई साथ दिए।
आमायाङ्ग्रीको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र आध्यात्मिक वातावरणमा सम्पन्न यस यात्राले सहभागीहरूलाई योग, ध्यान, आत्मचिन्तन तथा सांस्कृतिक पहिचानसँग जोडिने अवसर प्रदान गरेको जनाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित