सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पनि अब जथाभावी पशु काट्न र मासु बेच्न नपाइने भएको छ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेसँगै जिल्लामा पनि यो नियम लागू हुने भएको हो ।
पशु सेवा विभागले काठमाडौं उपत्यकाका लागि आठ सहसचिव सम्मिलित तीन कार्यदल तथा मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा र चितवनमा उपसचिव नेतृत्वमा १२ कार्यदल गठन गरेको छ ।
कार्यदलले सम्बन्धित जिल्लाका स्थानीय तहसँग आवश्यक समन्वय गरी व्यवसायीलाई पशुपन्छीको वध गर्नुअगाडि र गरेपछि अनिवार्य स्वास्थ्य परीक्षण, उत्पादित वस्तुलाई चिस्यान गराउने, मासुको तौलअनुसार प्याकेजिङ, मूल्य, आधिकारिक रूपमा सरकारी लोगो लगाउन प्रशिक्षण दिने, जनचेतना फैलाउने काम गर्नेछ ।
ऐनमा व्यवसायीले मासु बिक्री वितरण गर्न पशुको स्वास्थ्य जाँच गराएर सरकारले तोकेका वधशालामा मात्र वध गर्न पाइने व्यवस्था गरेको छ ।