हजारौं सिँढी उक्लँदै किन जाने चौताराको बुद्धपार्क ?

हजारौं सिँढी उक्लँदै किन जाने चौताराको बुद्धपार्क ?

फरक पत्रिका

शुक्रबार, असोज २ २०८३

हजारौं सिँढी उक्लँदै किन जाने चौताराको बुद्धपार्क ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारामा निर्माण गरिएको बुद्धपार्कमा अहिले पर्यटकीय गन्तब्य बनेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ मा पर्ने यो पार्कलाई तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले २०७८ चैत २४ गते उद्घाटन गरेका थिए । सदरमुकाम चौतारा बजारबाट हजारौं सिँढी उक्लँदै पुग्न सकिने जहाँ बुद्धपार्कसहितको भ्यूटावर रहेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको महत्वकांक्षी योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क निर्माण भएको हो। यो गौंराती सामुदायिक वन क्षेत्रमा पर्दछ । तत्कालीन नरग प्रमुख अमानसिंह तामाङले अरनिको राजमार्गको सुकुटेमा आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना अघि सारेका थिए । र, यो पार्क निर्माण भएको हो ।
चौतारा अहिले पर्यटकीय गन्तव्यको रुपमा पर्ने गरेको छ। सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एकदिन एक रात अलमलाउने योजनासहित सांगाचोकको गढी, इर्खुको रानीपोखरी, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने उनको योजनाले अहिले सार्थकता पाएको छ ।
गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउने विभिन्न उपायअनुरुप यो योजना अगाडि सारिएको हो । बुद्धपार्कबाट रमणीय चौतारा बजार, जुगल हिमाल, काभ्रेको धुलिखेललगायतका स्थान देख्न सकिन्छ। त्यस्तै बुद्ध पार्क निर्माणस्थलबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध पलाञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट स्पष्ट रुपमा देख्न सकिन्छ ।
यी मात्रै हैन धार्मिक महत्वले पनि यो पार्कमा घुम्न गइन्छ भने बुद्धका शिक्षाले अहिंसा, करुणा र शान्तिको सन्देश दिने भएकाले मन शान्त बनाउन जाने गरिन्छ। यो बुद्धपार्कमा स्थानीयवासीहरु ध्यान गर्ने गरेको पनि पाइन्छ । मन शान्त राख्न स्याउले, चौतारा, पीपलडाँडा, गौरातिका स्थानीय बिहान र बेलुकी एक सुरमा ध्यान गरिरहेको पनि भेटिन्छ । नजिकै जंगल रहेको अनि स्वच्छ हावा आउने डाँडा भएकले यो पार्क वरिपरी ध्यान गर्नेहरु बढेका छन् ।
यहाँ बुद्धप्रति श्रद्धा व्यक्त गर्न फूल, दीप वा धूप चढाउने चलन छ। बुद्धको उपदेशलाई सम्झनका लागि लोभ, क्रोध, मोह त्याग्ने, सत्य र करुणाको बाटोमा हिँड्ने प्रेरणा लिन जाने गरिन्छ। कतिपय मानिस आफ्नो इच्छा वा दुःख–कष्ट समाधानको कामना गर्दै जाने गर्छन्। तर बुद्ध शिक्षाको मूल जोड भने आफ्नै कर्म, आचरण र सचेत जीवनमा हुन्छ।


पर्यटन प्रवद्र्धनबाट स्थानीयलाई आर्थिक उपार्जनका लागि पनि यसले भूमिका निर्वाह गर्ने स्थानीयको विश्वास छ । यहाँ आउने पर्यटकले स्थानीय उत्पादनको स्वाद पाउनेछन्। त्यसले गाउँवासीलाई रोजगारीसमेत दिनेछ।
२०५२ सालमा तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्यले उद्घाटन गरेको प्रसिद्ध गौराती भीमसेन मन्दिर पनि बुद्ध पार्क नजिकै छ। पार्क निर्माणसँगै उक्त मन्दिरमा पनि पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ।
पार्क निर्माण सम्पन्न भएपछि यहाँका स्थानीयले आयआर्जनको बाटोसमेत खुल्ने अपेक्षा राखेका छन्। गाउँमा पर्यटक बढ्ने र गाउँमा उत्पादन भएका सामग्रीहरु बिक्री भई गाउँमै व्यवसाय संचालन गर्न सकिने स्थानीयको विश्वास छ ।
सदरमुकामबाट बुद्ध पार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित