गाउँमा दसैं : हराए माटो र कमेरोले सजाइने घर

गाउँमा दसैं : हराए माटो र कमेरोले सजाइने घर

फरक पत्रिका

बुधबार, असोज २८ २०८३

गाउँमा दसैं : हराए माटो र कमेरोले सजाइने घर

सिन्धुपाल्चोक । कुनै समय थियो गाउँका परम्परागत विभिन्न आकर्षक शैलीका माटाले बनेका घरहरु थिए । दसैंमा ती घरहरु रंगीन बनाइन्थे माटो अनि कमेरोको लिपपोतबाट ।
सेतो कमेरो, सेतो, पहेँलो, रातो तथा कालो माटोले विभिन्न कलाकृतिसमेत बनाएर सजिएका घरहरु निकै आकर्षक देखिन्थे । यस्तो आकर्षक घर दसैंको आगमनसँगै सजाउन थालिन्थ्यो ।
घर पोत्न खोला तथा खोल्सी तथा डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याइन्थ्यो अनि परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन थियो ।
तर अहिलेका किशोरकिशोरी तथा बालबालिकाका लागि यो एउटा दन्त्य कथाजस्तो बनेको छ । हुन पनि गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । प्रमुख कारण अहिले गाउँमा माटाले बनेको घर लोप हुनु ।
पछिल्लो समय सिन्धुपाल्चोकका गाउँहरुमासमेत सिमेन्ट र बालुवाको प्रयोग गरि पक्की घर निर्माण भएका छन् । झनै २०७२ को विनाशकारी भूकम्पपछि गाउँमा माटोले नेका परम्परागत घरहरु लोप भएका हुन् । अहिले बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि गाउँघरमा दशैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको स्याउलेका हरि श्रेष्ठ बताउँछन् ।
ज्यामिरेका सुनिलकुमार भण्डारीका अनुुसार पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले परम्परागत चलन हराएको हो । घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता लोप हुँदै गएको उनले बताए । पहिला पहिला माटो लिन जाँदा दसैंको रौनकता नै फरक भएको उनी सम्झन्छन् । अहिलेको आधुनिक प्रविधि तथा रंगरोगनले पराम्परागत सीप र अनुभव ओझेलमा परेको उनले बताए ।
कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित