सिन्धुपाल्चोक । गएको २४ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा भएको छ । सिन्धुपाल्चोकको बाहुनेपाटी क्षेत्रमा १०५.२ मिलिमिटर वर्षा भएको हो ।
मेलम्ची क्षेत्रमा अझै पनि भारी वर्षा भइरहेकाले बाढी तथा पहिरोको जोखिम बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार चौबीस घन्टामा सिन्धुपाल्चोकसहित १४ जिलामा भारी वर्षा भएको हो । यो अवधिमा सबैभन्दा धेरै वर्षा पाल्पाको पाल्पाको अर्चले मापन केन्द्रमा भएको छ । यहाँ २४३.४ मिलिमिटर वर्षा मापन भएको छ। पाल्पाकै गण्डकोटमा १५२.२ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो चौबीस घन्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा एक सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।
इलामको कन्याममा १०६.४ मिलिमिटर, सोलुखुम्बूको सल्लेरीमा १०४.२ मिलिमिटर, पेकरनासमा ११८.४ मिलिमिटर, काभ्रेको पनौतीमा १३४.८ मिलिमिटर, रोशीमा ११२.६ मिलिमिटर, सिन्धुपाल्चोकको बाहुनेपाटीमा १०५.२ मिलिमिटर, चितवनको माढीमा ११३.२ मिलिमिटर, चर्छरेमा ११०.४ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५० दृखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार पश्चिमी भूभागमा अझै ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ।