सिन्धुपाल्चोकमा छैन ग्याँस, दसैँ पनि दाउराकै भरमा मनाउनुपर्ने पिरलो

सिन्धुपाल्चोकमा छैन ग्याँस, दसैँ पनि दाउराकै भरमा मनाउनुपर्ने पिरलो

फरक पत्रिका

बुधबार, असोज २८ २०८३

सिन्धुपाल्चोकमा छैन ग्याँस, दसैँ पनि दाउराकै भरमा मनाउनुपर्ने पिरलो

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेकी धनमाया श्रेष्ठको परिवारमा पाँचजना सदस्य छन् । दिनहुँ कम्तीमा चारपटक चुल्हो बाल्नुपर्ने उनको बाध्यता छ ।
हुँर्कदैं गरेका बालबच्चालाई खानपान, वृद्ध ससुराको स्याहार, गाइभैंसी र बाख्रालाई घाँसको जोहोसँगै भान्छाको बन्दोबस्त । निकै कठिन छ दैनिकी । यसलाई झनै कठिन बनाइदिएको छ अभाव भएको एलपी ग्याँसले ।
तीन साता बित्यो उनले जसोतसो दाउराको जोहो गरेर चुल्हो बालेर गर्जो टारेको । व्यस्त दैनिकीलाई झनै दाउराको जोहो गर्नुपर्ने बाध्यता आइलाग्दा अर्काे सकस थपिएको उनी सुनाउँछिन् । ‘नजिकैको पसलमा लगेर खाली गयाँसको सिलिण्डर बुझाएको निकै भइसक्यो, हरेक दिनजसो न ग्यास आयो कि भनेर सोध्न पुग्छु,’ उनले फरकपत्रिकासँग भनिन्, ‘दाउरा खोज्नुपर्ने हैरानी, त्यसमाथि धुवाँको कष्टले निकैै गाह्रो बनाएको छ ।’ उनले नजिकिएको दसैंमा पनि दाउराकै भर पर्नुपर्ने भएकाले अर्काे पिरलो थपिएको सुनाइन् ।
पछिल्लो १५ दिनयतादेखि ग्याँस अभाव झेल्दै आएका इन्द्रावती गाउँपालिका कुञ्चोकका दिनेश थापा पनि अहिले दाना बनाउनका लागि दाउराकै भर परिरहेका छन् । दुई सातादेखि उनी हरेक दिन दाउराको जोहो गर्न नजिकैको जंगल पस्ने गर्छन् । ‘२५ वर्षअघि दाउरा खोज्न बनमा जानुपथ्र्याे त्यही नै दैनिकी थियो । अहिले त्यही अवस्था आयो ।’ उनले विगत सम्झिए ।
दसैँको मुखमा खाना पकाउने ग्यास सहज रूपमा नपाउँदा श्रेष्ठ र थापा मात्रै हैन जिल्लैभरका गाउँवासी निकै चिन्तित छन् । झनै चुल्होको प्रयोग बढी हुने चाड नजिकै आएकाले अर्काे पिरलो थपिएको थापा बताउँछन् ।
चाडपर्वका बेला खाद्यान्न र दैनिक उपभोग्य वस्तुको जोहो गर्नुपर्ने समयमा खाना पकाउने ग्यासकै लागि डिलर धाउनुपर्ने बाध्यताले उपभोक्तालाई थप सास्ती दिएको छ ।
ग्यासको अभाव हुनुमा कम्पनीबाट पर्याप्त आपूर्ति नहुनु मुख्य कारण रहेको व्यवसायी अम्मरबहादुर श्रेष्ठ बताउँछन् । उनका अनुसार चौतारा क्षेत्रमा मासिक करिब दुई हजार सिलिन्डर ग्यास उनकै पसलबाट मात्र विक्री हुने गरेको छ । तर पछिल्लो समय कम्पनीले तीन सय सिलिन्डरसमेत उपलब्ध नगराउँदा बजारमा अभाव चुलिएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित