हेटौंडा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्म बागमती प्रदेशस्तरीय उद्यमी सम्मानमा दोस्रो भएको छ। उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशले आयोजना गरेको १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा फर्मले ७१ अंक प्राप्त गर्दै प्रदेशमै दोस्रो स्थान हासिल गरेको हो।
फर्मलाई ‘जिल्लाको उत्कृष्ट उद्यमी’ पुरस्कारबाट समेत सम्मान गरिएको छ। कार्यक्रममा ७३ अंक प्राप्त गर्दै ललितपुरको अन्नपूर्ण खाद्य उद्योग सर्वोत्कृष्ट उद्यमी घोषित भएको थियो। सम्मानका लागि प्रदेशभरबाट १४ उद्यमी छनोट भएका थिए।
‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित हेटौंडास्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो।
सन् २०१७ देखि सिन्धुपाल्चोकमा सञ्चालन हुँदै आएको अरनिको कृषि तथा पशुपालन फर्मले विशेष कफी उत्पादन, स्थानीय कृषि उपज, कृषि पर्यटन, आतिथ्य सत्कार तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको छ। शारदा घलेको स्वामित्वमा रहेको फर्मले स्थानीय किसान र उत्पादनलाई प्रोत्साहन गर्दै उद्यमशीलताको विकासमा योगदान पुर्याउँदै आएको छ।
प्रदेशस्तरमै दोस्रो स्थान हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै फर्मले यो उपलब्धि किसान, कर्मचारी, साझेदार, ग्राहक तथा आफ्नो अभियानमा विश्वास गर्ने सबैप्रति समर्पित गरेको जनाएको छ। सम्मानले थप मेहनत गर्न, नयाँ अवसर सिर्जना गर्न र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन प्रेरणा मिलेको फर्मले जनाएको छ।