सिन्धुपाल्चोक । नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका वंशलाल तामाङ निर्वाचित भएका छन् । आदिवासी जनजाति तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका उनी १ हजार ७ सय ५६ मत ल्याउँदै निर्वाचित भएका हुन् ।।
वंशलाल आजभन्दा ४७ वर्षअघिदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका थिए । २०३६ सालमा कांग्रेस भातृ संस्था नेपाल बिद्यार्थी संघबाट उनले राजनीति सुरु गरेका हुन् । सोही वर्ष ऐसेलुखर्क मा बि ईकाई अध्यक्ष भएका उनी २०३६ मै संस्थापक जिल्ला सदस्य बने ।
सत्याग्रहमा प्रहरी हिरासतमा उनी २०४२ सालमा परे । विद्यार्थी राजनीतिकै क्रममा उनी २०४६ सालमा ने. बि. संघ, सिन्धुपाल्चोकको अध्यक्ष भए । त्यही वर्ष कांग्रेसको जिल्ला सदस्य बनेर वंशलाल मूल राजनीतिमा होमिएका थिए ।
जिल्लामा संगठन विस्तार, कार्यकर्तालाई उत्प्रेरणा जगाउने कांग्रेसका अभियन्ता उनी २०५४ को स्थानीय निर्वाचनपछि जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भए २०५४ देखि उनको यो कार्यकाल २०५९ सम्म रहेको थियो ।
जिविसको सदस्यको कार्यकाल सकिएलगत्तै २०६० सालमा वंशलालले कांग्रेसको जिल्ला सचिवको जिम्मेवारी सम्हाले । लामोसमयदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनी २०७४ को स्थानीय तहको निर्वाचनमा इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । सोही वर्ष उनी गाउँपालिका राष्टिय महासंघको महासचिव बने । फागुन २१ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका तामाङ नेकपाका उम्मेदवार युवराज दुलालसँग पराजित भएका थिए। निर्वाचनमा उनले सम्मानजनक मत प्राप्त गरेका थिए।
विभिन्न समयमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका वंशलाल अहिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित भएपछि वंशलाल तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत अमूल्य मत दिएर निर्वाचित गराउनु हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति धन्यवाद साथै हार्दिक आभार व्यक्त गरेका छन् । उनले अग्रजहरूको अनुभवलाई आत्मसात् गर्दै युवाको ऊर्जा, सोच र सक्रियतालाई संगठन सुदृढीकरणमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समुन्नत नेपाल निर्माणको यात्रामा युवाको जोश र अनुभवी अग्रजहरूको मार्ग निर्देशनलाई आत्मसाथ गर्दै अगाडि बढ्ने उनले जनाएका हुन् ।