तातोपानी नाका ठप्प हुँदा कोरलाको प्रयोग, एक दिनमा आइपुग्ने सामान लाग्छ एक साता

तातोपानी नाका ठप्प हुँदा कोरलाको प्रयोग, एक दिनमा आइपुग्ने सामान लाग्छ एक साता

फरक पत्रिका

बुधबार, भाद्र ३१ २०८३

तातोपानी नाका ठप्प हुँदा कोरलाको प्रयोग, एक दिनमा आइपुग्ने सामान लाग्छ एक साता

सिन्धुपाल्चोक । नेपाल–चीन प्रमुख व्यापारिक तातोपानी नाका खुल्ने अनिश्चित भएको छ । भोटेकोशी बाढीपछि रसुवागढी–केरुङ नाका बन्द भएलगत्तै चीनले नेपाललाई पत्र पठाउँदै तातोपानी नाका बन्द गर्ने जानकारी दिएको थियो। नाका बन्द गर्नुको कारण भने चिनियाँ पक्षले खुलाएको छैन। चीनले कहिले खुल्छ भन्ने सूचना नेपाललाई नदिएकाले तातोपानी नाका सञ्चालन अन्योलमा परेको हो।
भोटेकोशी बाढीपछि तातोपानी हुँदै पर्यटक फर्काइएका थिए । तर कन्टेनर भने चल्न नदिएकाले नाका अहिलेसम्म ठप्प छ । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले तातोपानी नाका बन्द गर्नुको कारण थाहा पाउन नसकेको जानकारी दिए।
सोसँगै अहिले नेपाल–चीन स्थलगत व्यापारका लागि मुस्ताङको कोरला नाका प्रयोग भइरहेको छ। कोरला–काठमाडौं दूरी करिब ४८१ किलोमिटर, काठमाडौं–तातोपानी दूरी करिब १२४ किलोमिटर र काठमाडौं–रसुवागढी दूरी करिब १६० किलोमिटर छ।
चीनले भदौ १४ गते पत्र पठाउँदै अस्थायी रुपमा तातोपानी नाका बन्द गरेको जानकारी दिएको थियो। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरेको छ। सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयलाई यसबारे जानकारी गराएको हो।
‘हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ’, भन्सार अधिकृत तुलबहादुर पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भने, ‘हामीले केही समयको लागि झाङ्मु पोर्ट बन्द गरेका छौँ, कहिले खोल्छौँ भन्ने जानकारी अर्को इमेलमा गराउनेछौँ भनिएको छ।’
रसुवामा आएको बाढीजस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढी आउनसक्ने अनुमान गरेर चिनियाँ पक्षले नाकाबन्द गरेको हुनसक्ने पाण्डेको भनाइ छ।
उनका अनुसार चिनियाँ अधिकारीले रसुवा बाढी र त्यसले पुर्याएको क्षतिलाई मध्यनजर गरी झाङ्मु पोर्टबाट भन्सार कार्य बन्द गर्नुको साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ।
तातोपानी भन्सार कार्यालय प्रमुख दीपेन्द्रप्रकाश गिरीले भदौ १४ गतेदेखि तातोपानी नाकाबाट मालवाहक कन्टेनर जाँचपास नभएको जानकारी दिए। तर यात्रुवाहक सवारी भने पास भइरहेको छ। गिरीले पनि तातोपानी नाका बन्द हुनुको कारण जानकारीमा नभएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित