काठमाडौं। विश्वकपमा डेब्युट टोली केप भर्डेको यात्रा अब टोली नकआउट चरण पुग्ने सम्भावनाको निकै नजिक पुगेको छ। लगातार दुई खेलमा अपराजित भर्डे सनु २००२ मा सेनेगलपछि डेब्युट टोलीमा लगायतार दुई खेलमा अपराजित रहने टोली बनेको छ ।
विश्वकपको पहिलो सहभागितामै फिफा वरीयतामा आफूभन्दा ६५ स्थान माथि रहेको स्पेनसँग उसले बराबरी खेलेर सबैलाई चकित पारेको थियो । दोस्रो खेलमा केप भर्डेले आइतबार दुईपटकको विश्वविजेता उरुग्वेसँग पनि २–२ को रोमाञ्चक बराबरी खेल्दै आफ्नो क्षमता पुनः प्रमाणित गरेको हो।
उरुग्वेसँगको बराबरीपछि समूह एचमा केप भर्डे दुई अंकसहित तेस्रो स्थानमा छ। उरुग्वेको पनि समान दुई अंक छ।
विस्तारित विश्वकपको नयाँ ढाँचाअनुसार १२ समूहका उत्कृष्ट आठ तेस्रो स्थानका टोली पनि अन्तिम ३२ मा पुग्ने भएकाले केप भर्डेको सम्भावना अझ बलियो बनेको छ।
केप भर्डेले अब अन्तिम समूह खेलमा साउदी अरेबियाको सामना गर्नेछ। साउदी अरेबियाले उरुग्वेसँग १–१ को बराबरी खेलेको थियो भने स्पेनसँग ४–० ले पराजित भएको थियो।
केप भर्डेले साउदी अरेबियालाई हराउन सके नकआउट चरणको यात्रा निश्चित हुनेछ। अब सबैको नजर साउदी अरेबियाविरुद्धको निर्णायक खेलमा केन्द्रित भएको छ।