सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले आङ् खस्ने समस्याबाट पीडित महिलाहरुको निःशुल्क उपचार गर्ने गरेको छ । गाउँपालिकाले सबै खर्च व्यवस्थापन गरेर उनीहरुको शल्यक्रियासमेत गर्ने गरेको हो ।
आङ् खस्ने समस्या पीडित सात सन्तानकी आमा सल्ले गाउँकी ६५ वर्षीय आइतीमाया थामी अहिले खुशी छिन् । उनी शल्यक्रियापछि अहिले सामान्य जीवन बिताउँदै आएकी छन् । उनले अहिले घरबारीको काम गर्नसक्नेसमेत बताइन् । पहिला रोगले थलिएर बस्नुपरेको सम्झँदै उनले उपचार गरिदिएकोमा सरकार रहेछ भन्ने लागेको प्रतिक्रिया दिइन् ।
त्यस्तै पाँच सन्तानकी आमा ५७ वर्षीया कदममाया थामी पिस्करकी ६७ वर्षीया पदमकुमारी थामी पनि उपचारपछि खुशी छन् ।
स्थानीय सरकार गठनपछि ६ वर्षको अवधिमा गाउँपालिकाभर ६ वटा वडामा रहेका १०४ पीडित महिलाको सफल शल्यक्रिया गरिएको पालिका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले बताए ।
पालिकाकै खर्चमा प्रत्येक दिन वडापिच्छे शिविर राखेर महिलाको पाठेघर परीक्षण गरिन्छ । अस्पताल ल्याउने, घर पु¥याउने, औषधि र शल्यक्रिया सबैको खर्च स्थानीय सरकारले ब्यहोर्ने गरेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए । विरामीलाई बनेपास्थित शिर मेमोरियल हस्पिटलमा पाठेघरको शल्यक्रिया गरिँदै आएको छ ।