सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधी पसलहरुको अनुगमनलाई तीव्रता दिइएको छ । औषधी पसल, निजी स्वास्थ्य संस्था, भेटेरिनरी, अस्पताल तथा स्वास्थ्य केन्द्रको फार्मेसी लगायतकोसमेत अनुगमन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकत्वमा पछिल्लो समय गरिएको अनुगमनबाट ५ औषधी पसल तथा २ वटा भेटनरी सिल गरिएको छ।
मापदण्डभँदा बाहिर गएर पसल सञ्चालन गरिरहेको पाइएपछि सील गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। अनुगमनका क्रममा स्वास्थ्य संस्था तथा औषधी पसलहरू प्रचलित मापदण्डअनुसार सञ्चालन भए नभएको, आवश्यक अनुमति तथा दर्ता भए नभएको र स्वास्थ्य सेवा तथा औषधि बिक्रीसम्बन्धी व्यवस्थाको पालना भए नभएको निरीक्षण गरिएको उनले बताए।
अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका तथा आवश्यक प्रक्रिया पूरा नगरेका औषधी पसल सिल गरिएको छ भने केहीलाई आवश्यक सुधार तथा प्रक्रिया पूरा गर्न सचेत गरिएको जनाइएको छ। केहि औषधी पसल अनुगमन टोली आएको थाहा पाएर पसल बन्द गरि भागेकोले उक्त औषधि पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको शर्माले जानकारी दिए ।
अनुगमन टोलीमा औषधी व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।