पहिले घुस खुवाएर लाइसेन्स लिए, अहिले बिचल्लीमा छन् ठूलोसिरुवारीका अनिल

पहिले घुस खुवाएर लाइसेन्स लिए, अहिले बिचल्लीमा छन् ठूलोसिरुवारीका अनिल

फरक पत्रिका

बुधबार, साउन २९ २०८२

पहिले घुस खुवाएर लाइसेन्स लिए, अहिले बिचल्लीमा छन् ठूलोसिरुवारीका अनिल

काठमाडौँ । २०७५ सालमा लाइसेन्स बनाउने बेलामा उनले बिचौलियामार्फत बनाए । त्यतिबेला चालीस हजार रुपैयाँ बिचौलियालाई दिए अनि निकालेर काठमाडौंको गोकर्णेश्वर यातायात चलाए पाँच वर्षसम्म । अअनि उनको लाइसेन्स नवीकरण गर्ने बेला भयो ।

लाइसेन्स नवीकरण गर्न सिन्धुपाल्चोक ठूलोसिरुवारीका अनिल श्रेष्ठ यातायात कार्यालय गए । त्यहाँ पुगेपछि उनी चकित परे । लाइसेन्स नवीकरण गर्न जाँदा ढड्डामा कुनै विवरण भेटिएन । बरू उनको लाइसेन्स नम्बर ७८०५५० हरिभक्त खत्रीले लिएको ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स रहेछ । खत्रीले २०५९ कात्तिकमा लिएको लाइसेन्स श्रेष्ठलाई नामसारी गरिदिएका रहेछन्।

लाइसेन्स नवीकरण नभएपछि श्रेष्ठ अहिले बेरोजगार छन् । लाइसेन्स निकाल्न पैसा दिएका बिचौलियालाई खोजिरहेका छन्। पैसा खुवाएरै नवीकरण गर्न सकिन्छ कि भनेर एकान्तकुना कार्यालयका बिचौलियालाई नभेटेको होइन तर ५० हजार रुपैयाँ लाग्छ भनेपछि पैसा दिन नसकेर उनी गाउँ फर्किए। परीक्षा दिएर नयाँ लाइसेन्स निकाल्नका लागि पनि २०८५ सालसम्म नमिल्ने भएपछि गाउँ फर्किनुको विकल्प नभएको उनले बताए।

श्रेष्ठ मात्र होइन, यस्ता समस्या लिएर यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनामा वर्षमा सयौँ आउने गरेका छन् । परीक्षा नदिई घुस खुवाएर अरूको लाइसेन्स नम्बरमा आफ्नो लाइसेन्स लिएका नवीकरण गर्न जाँदा बिचल्लीमा पर्ने गरेका छन् । कर्मचारीको मिलेमतोमा बिचौलियाले विदेश गएर १० वर्षसम्म नफर्किएका, मृत्यु भएका वा दुई पटकसम्म नवीकरण गर्न नआएकाको लाइसेन्स नम्बर नामसारी गरिदिँदा समस्या भोग्नु परेको छ।

उनको जस्तै समस्या हुनेलाई अझै पनि पैसा असुल्ने काम रोकिएको छैन । ‘यातायात कार्यालयमा जाँदा अरूको लाइसेन्सको हो नवीकरण हुँदैन भन्यो तर फेरि बाहिरका मान्छेलाई बुझेको ५० हजार दिए हुन्छ भन्छन् , पैसा दिएर नवीकरण हुँदो रहेछ त , कानून भनेको हामी जस्ता मजदुर र पैसा नहुनेलाई त लाग्दो रहेछ नि’, उनले भने।

तर एकान्तकुना कार्यालयले भने हाल त्यस्तो प्रकारको नामसारी नगरिएको दाबी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित