गन्तव्य जनैपूर्णिमा : यसरी देउता फेला परेपछि पुज्न थालियो बाह्रविसेको टुङटुङ महादेवस्थान

गन्तव्य जनैपूर्णिमा : यसरी देउता फेला परेपछि पुज्न थालियो बाह्रविसेको टुङटुङ महादेवस्थान

फरक पत्रिका

बिहिबार, साउन २३ २०८२

गन्तव्य जनैपूर्णिमा : यसरी देउता फेला परेपछि पुज्न थालियो बाह्रविसेको टुङटुङ महादेवस्थान

सिन्धुपाल्चोक । अरनिको राजमार्गको गातीबाट करिब ३ किलोमिटर दुरीमा एउटा मन्दिर छ । जहाँ पूजा, भाकल गरे मनले मागेको विश्वास भएकै कारण अहिले चर्चामा रहेको पाइन्छ ।
त्यो हो, बाह्रविसे नगरपालिका गातीमा अवस्थित टुङटुङ महादेवस्थान । किंवदन्तीअनुसार यहाँ करिब तीन सय वर्षअघिदेखि पूजा गर्न थालिएको हो । त्यसैकारण पनि अहिले धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।

विशेषगरि यो मन्दिर महादेवको भएका कारण जनैपूर्णिमामा पनि मेला लाग्दछ । हिन्दु धर्मावलम्बीहरु जनै पूर्णिमामा यो मन्दिरमा आएर चोखो भई जनै फर्ने गर्दछन् । बाह्रविसेमा रहेको सुनकोशी र क्षमादेवी मन्दिरसँगै यहाँ पनि भव्य मेला लाग्दछ । यो मन्दिरलाई सुनकोशी र क्षमादेवीको भगिनी मन्दिरको रुपमा लिइने गरिन्छ । यहाँ कात्तिक पूर्णिमामा पनि मेला लाग्ने गर्दछ ।

यहाँ आकर्षक गुफा रहेको छ । यही भित्र यहाँ महादेव र भूमेको मुर्ती छ । यहाँ आइपुग्ने धर्मावलम्वीहरुले महादेव र भूमेको एकैसाथ पूजाआजा गर्ने गर्दछन् । टुङटुङ नाम किन रहन गयो भन्नेबारे स्थानीयवासीसमेत अझै अनविज्ञ छन् । यसैले पनि यो मन्दिरको नाम महादेव र भूमेको एकैसाथ पूजा गरिने भएकाले यस मन्दिरको नाम टुङटुङ भूमेस्थान रहन गएको हो ।

यो मन्दिरको किवंदन्ती अलि अनौठो र फरक प्रकृतिको रहेको पाइन्छ । स्थानीय बृद्धाहरुका अनुसार करिब तीन सय वर्ष अघि आफ्ना पुर्खाहरुले गाई बाख्रा चह्राउन आउँदा यहाँ तामाका सिक्का भेटेका थिए । त्यतिबेला भेटिएका सिक्का लगेर घरमा लाग्दा रातको समयमा आफै हराउने गरेको थियो । भोलिपल्ट सो सिक्का यही ठाउँमा देखिने गरेको थियो । यसरी सिक्का भेट्दै घर लैजाँदै गर्ने क्रममा जति पटक लग्यो उति नै पटक आफै फिर्ता हुने अनौठो भएपछि यहाँ देवता छन् भनेर पुज्न थालेको स्थानीय सुनाउँछन् ।

देउता छन् भन्ने स्थानीयलाई विश्वास बढेपछि यहाँ पूजा गर्ने, भाकल राख्न थालियो । लामो समयदेखि यो क्रम निरन्तर चल्यो । व्यापारिक केन्द्र बाह्रविसे बजार र अरनिको राजमार्गबाट नजिकै भएकाले पनि पछिल्ला समय यहाँ आउने दर्शनार्थी बढेका छन् । यहाँ दर्शैन गर्न आएका र भालक राखेकाहरु धर्मावलम्बीहरु आफूले चाहेको र मागेको पूरा भएको बताउँछन् ।

टुङटुङ महादेवस्थान प्रति स्थानीयको विश्वास पनि पछिल्लो समय बढ्दो छ । जेठमा यहाँका स्थानीयले पानी पूजा गर्ने गर्दछन् । देउता रिसाएको खण्डमा पानी नपर्ने या बढी पर्न सक्ने भन्दा आवश्यकताअनुसार पानी पारिदिन यहाँ पूजा गर्ने गरिन्छ ।

उसो त यहाँ व्यापार विग्रेका, छोरा छोरी नभएका, सम्पत्ति माग्ने मात्रै नभई देश र जनताको रक्षा होस् भन्ने भनाकल लिएर पनि धर्मावलम्बीहरु आउने गरेको पाइन्छ ।
स्थानीयवासीको मात्रै नभई बाह्रविसे बजार आसपास अनि सिन्धुपाल्चोक र छिमेकी जिल्ला दोलखाबाट पनि भाकल राखेर यहाँ धर्मावलम्बीहरु आउने गर्दछन् । त्यसैले पनि यो क्षेत्रलाई अहिले आन्तरिक पर्यटकीय धार्मिक गन्तब्यकोृ रुपमा लिइन्छ । अरनिको राजमार्गको जम्बुबाट सिंगार्चे, डाँडाकटेरी हुँदै यो भूमिका पुग्न सकिन्छ । यहाँ पुग्न अहिले पैदल गनुपर्दछ ।

धर्मावलम्बीको चाप र टुङटुङ भूमेस्थानको प्रचार बढ्दै जाँदा स्थानीय सरकारको पनि ध्यान गएको पाइन्छ ।

यहाँ पुग्न स्थानीय सरकारले सडकको स्तरोन्नति गर्ने बताएको छ भने थप पर्यटक आकर्षित गर्न विभिन्न भौतिक संरचना निर्माण गर्ने लक्ष्यसमेत नगरपालिकाले लिएको छ । स्थानीयलाई लाभ हुने खालका थप कार्यक्रम सञ्चालन गर्न सके यो ठाउँ जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तब्यस्थल बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित