माननीयज्यू, तातोपानी नाका सञ्चालनमा ल्याउने जिम्मा कस्को हो ? बताइदिनुहोस्

माननीयज्यू, तातोपानी नाका सञ्चालनमा ल्याउने जिम्मा कस्को हो ? बताइदिनुहोस्

फरक पत्रिका

बिहिबार, साउन २३ २०८२

माननीयज्यू, तातोपानी नाका सञ्चालनमा ल्याउने जिम्मा कस्को हो ? बताइदिनुहोस्

आठ वर्षअघि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर १० गते हुँदै थियो । सीमा जोडिएको प्रतिनिधि सभा क्षेत्र नं. १ मा त्यतिबेलाका सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नी सापकोटाबीच मुख्य प्रतिष्पर्धा थियो । यो क्षेत्रको प्रदेश सभा १ मा अरुण नेपाल र विष्णुबहादुर खत्री चुनावी मैदानमा थिए । बस्नेत र खत्री लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थिए भने सापकोटा र नेपाल बामगठबन्धनबाट  चुनावी मैदानमा थिए ।
उनीहरु सबै आफूले जित्नासाथ पहिलो काम नै तातोपानी नाका सधैंका लागि खोल्ने बताउँदै घरदैलो अभियानमा थिए । सभा समारोह अनि चुनावी घोषणा पत्रमा पनि यही विषय प्राथमिकतामा थियो ।

सापकोटा र नेपालले चुनाव जिते । सापकोटा सभामुख पनि भए । तर दीर्घकालीन रुपमा नाका खुलाउने वाचा संघीय राजधानी र प्रदेश राजधानीमै थन्कियो ।

पाँच वर्षपछि चुनाव आयो फेरि उही कथा दोहोरियो । ‘दीर्घकालीन रुपमा नाका मैं खोल्छु, सडक बन्द हुन दिन्नँ ।’

२०७९ को चुनावमा यही एजेण्डा बोकेर माधव सापकोटा सुवोधले चुनाव जिते प्रतिनिधि सभा १ बाट । त्यस्तै प्रदेशबाट मसिना खड्का भण्डारी माननीय बनिन् । उनी त प्रदेश मन्त्रीसमेत भइन् । तर, समस्या अझै ज्यूँका त्यूँ छ । यसको मतलब उनीहरुले पनि वाचा भुले ।

सडककै कारण तातोपानी नाका बारम्बार बन्द हुन्छ । भएकै छ । अहिले पनि पाँच दिनदेखि इकुको पहिरोले गर्दा सडक अवरुद्ध छ । अब यहाँ प्रश्न उठ्छ । के नेताले बोलेकै भरमा तातोपानी नाका दीर्घकालीन रुपमा खुल्न सक्छ । नेताको एक बोलीमै सडकमा गएको पहिरो पन्छिन्छ । नत्र किन बोल्छन् चुनावी सभामा कि ‘दीर्घकालीन रुपमा नाका मैं खोल्छु, सडक बन्द हुन दिन्नँ ।’ नसक्ने भए किन बोल्छन् नेताहरु । अनि सक्ने भए किन गर्दैनन् । यो प्रश्न जनताका लागि सधैं अनुत्तरित भएर बसेको छ ।

नेपाल र चीन जोड्ने स्थलमार्गमध्ये तातोपानी नाका मुलुककै प्रसिद्ध नाका हो । चीनलाई जोड्दै सिन्धुपाल्चोकको भोटेकाशी गाउँपालिकामा यो नाका अवस्थित छ । कुनै समय देशको लाइफलाइनको रुपमा चिनिइने यो नाका अहिले बाढी र पहिरोको चपेटामा छ । अरनिको राजमार्ग अन्तर्गतका विभिन्न स्थान र समयमा आएका बाढी तथा पहिरोले सडक अबरुद्ध छ । जसकारण चीनबाट नेपाल ल्याइएका र भन्सार भइसकेका करिब संयौं कन्टेनर सामान अहिले सुख्खा बन्दरगाह तातोपानी भन्सार कार्यालयको गोदाममै अलपत्र छ । कतिपय कन्टेनर पहिरोकै कारण चीनमै थन्किएका छन् ।
यो अन्तररािष्टय नाका हो यसैले पनि यसलाई राजधानीको आँखाले क्लियर रुपमा हेरिरहेको हुन्छ । नेताले हेर्छन्, व्यापारीले हेर्छन् । तस्करीले हेर्छन् । र, हेर्छन् जनताले पनि । सबैको हेर्ने दृष्टि फरक फरक हुन्छ ।

उसो त हरेक चार वर्षमा चुनाव आउँछ । नेताहरुको प्रमुख एजेन्डा हुन्छ तातोपानी नाका नियमित खुलाउँछु अनि स्थानीय जनतालाई गाउँमै रोजगारीको वातावरण सिर्जना गर्छु । अघिल्ला चुनावहरुमा भएका वाचा अब फेरि होरिनेमा शंका छैन । तर, नाका दीर्घकालीन रुपमा सञ्चालन हुनेमा भने निक्कै शंका छ ।
यो वर्षको बर्खालागेसँगै राजमार्ग अन्तर्गतका केही स्थानमा बाढीले सडक कटान गरेपछि केही समय कन्टेनरहरु कोदारीमै थन्किए । विभिन्न संघ संस्थाको पहलमा सडक निर्माण गरिएपछि तातोपानीमा रहेका कन्टेनर सामग्री बोकेर काठमाण्डौं आइपुगे पनि । पछि फेरि बाढीले सडक कटान गरेपछि भन्सार भइसकेका सामग्री गोदाममै थन्किए । सडक सूचारु भयो फेरि रजधानी भित्रिए । यो क्रम निक्कै चल्यो ।

यो पनि पढ्नुहोस्

कोदारी राजमार्ग सञ्चालनमा इकु पहिरो बाधक, चार दिनदेखि अवरुद्ध छ सडक

बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध, चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित

यो नाका निरन्तर सञ्चालनमा आउनका लागि सबैभन्दा समस्या सडक पूर्वाधार हुन् । अहिले इकु पहिरो पन्छाउन र भासिएको स्थान उठाउन नसक्दा पाँच दिन बित्दासमेत राजमार्ग नखुलेको हो । इकु पहिरो झरिरहने समस्यासँगै अर्कोतर्फ सोही पहिरोमुनि रहेको भोटेकोशी नदीको बहाबले सडकलाई तानिरहेको छ । नदीले तानेर भासिएको सडक उठाउन सडक डिभिजन कार्यालयले हैरानी बेहोरिरहेको छ । दिनहुँ खस्ने पहिरोले कन्टेनर मात्रै होइन, बिरामी बोक्ने एम्बुलेन्सलगायतका अत्यावश्यक सवारीसाधन पनि रोकिनु परेको छ ।

सडक अवरुद्ध हुँदा तातोपानी नाकाबाट भन्सार प्रक्रियाका लागि उताबाट छुटेका दर्जनौँ कन्टेनर खासा, लिपिङमा रोकिँदै आएका छन् ।

२०७२ मा भूकम्प आएर बन्द हुनु अघि यो नाका देशको महत्वपूर्ण नाकाको रुपमा चिनिन्थ्यो । यहाँबाट चाइनीज सामानहरु लताकपडा, खाद्यान्न, इलोक्ट्रोनिकलगायत विभिन्न सामग्री सस्तो र सुलभ मूल्यमा आउने गर्दथ्यो । यो नाका सञ्चालनमा हुँदासम्म तातोपानी, बाह्रबिसे, खाडिचौर देखि दोलालघाटसम्मका स्थानीयले व्यापार व्यवसाय गरेर गुजारा चलाउने गर्दथे । २०७२ बैशाख १२ गते आएको भूकम्पले यो नाका बन्द भयो । भूकम्पसँगैं आएको सुख्खा पहिरोले धेरैले ज्यान गुमाए भने करोडौंका भौतिक सम्पतिहरु नष्ट भए । भूकम्पपछि खासामा धाँजा फाटेर चिराचिरा परेको छ भन्दै चीनले यो नाका बन्द गरिदियो । यता नेपाल तर्फको भूभागमा पनि सुख्खा पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध थियो । लिपिङ र खासा बजारमा व्यवसाय गरेर गुजारा चलाउने व्ययवसायीलाई चीनले अन्त कतै सारिदियो । र पुर्ननिर्मााण गर्ने भन्दै चीनले अनिश्चित कालका लागि यो नाका बन्द गरिदियो ।

नेपाल र तिब्बतबीच कोदारी राजमार्ग बनेदेखि नै मुख्य व्यापारिक नाकाका रूपमा रहेको तातोपानीबाट आवतजावत ठप्प भएसँगै त्यस क्षेत्रमा व्यापार व्यवसाय धराशयी भएको थियो । एक प्रकारले भूकम्पले घर र वास मात्र भत्काएको थिएन, आशा पनि भत्काएर गएको थियो । यहाँका धेरै मानिसहरु आफ्नो थातथलो नै छाडेर विस्थापित हुन पुगे भने यहाँबाट वैदेशिक रोजगारमा जाने महिला र पुरुषको संख्यामा पनि निकै वृद्धि भयो । चिनियाँहरूले लामो समयसम्म पनि नेपालले तातोपानी नाका खोल्न गरेको आग्रह टार्दै आएका थिए । यता नेपालतर्फको सडक मर्मत गरे पनि वर्षायाममा सधैँ बाढी–पहिरोको चपेटामा पर्ने क्रम पनि जारी थियो । नेपालको प्रयास पनि एकदम अनिच्छापूर्वक चालिएका अल्छी पाइलाजस्तो कछुवागतिमा अघि बढेको थियो । यस्तो अवस्थाले रोजिरोटी खोसिएका र जीवनको लय भत्कन पुगेका सिन्धुपाल्चोकवासी भने लामो समयदेखि यस नाकाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि माग गरिरहेका थिए । अन्ततः चीन यो नाका पुनः सञ्चालनमा ल्याउन सहमत भयो । उसले वारि–पारि दुवैतिरका ध्वस्त संरचना पुनर्निर्माणमा सहभागिता जनायो । अन्तत २०७६ जेठ १५ गते ४ वर्षपछि तातोपानी नाका विधिवत रुपमा पुनः सञ्चालनमा आयो । यससँगै झन्डै खण्डहर बनेको र मानिसको चहलपहल सकिएको नाका वरपरका बस्ती र त्यहाँसम्म जाने–आउने नेपालपट्टिको अरनिको राजमार्गका किनाराका साना–ठूला बजारमा चहलपहल सुरु भए ।

यो पनि पढ्नुहोस्

सडकको असर : तातोपानी नाका एक वर्षमा ८० दिन बन्द

भोटेकोशीको इकुमा पहिरो, तातोपानी भन्सारमै रोकिए कन्टेनर

विभिन्न समयका आएका पहिरो तथा बाढीले सडक अबरुद्ध गरेपछि राजश्व संकलनसमेत प्रभावित बन्यो । गत आर्थिक वर्षमा २१ अर्ब ७३ करोड राजश्व सङ्कलनको लक्ष्य राखेकोमा १८ अर्ब ८६ करोड रूपैयाँ संकलन भयो । यो लक्ष्यको ८६ दशमलव ७८ प्रतिशत हो। झण्डै तीन महिना पटकपटक अवरूद्ध भएको सडकका कारण कार्यालयको कार्यसम्पादनमा समस्यासँगै नाकाबाट व्यवसायीले सामान आयात गर्न नसक्दा भन्सारले २ अर्ब ८७ करोड राजश्व लक्ष्य पूरा गर्न सकेन ।
तातोपानी भन्सार कार्यालयले पछिल्ला वर्षहरूमा लगातार राजश्व लक्ष्यअनुसारको पूरा गर्न नसक्दा मुलुकको समग्र राजश्व लक्ष्य प्रभावित भएको छ। चालु आर्थिक वर्षमा यो भन्सार कार्यालयले २४ अर्ब ४७ करोड रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

सडकको यस्तै अवस्था अनि माननीयज्यूहरुको आश्वासनमा मात्रै पहल हुने भए यो लक्ष्यले कति प्रतिशत फल पाउला त्यो भने हेर्न बाँकी नै छ ।

लामो समयदेखि रसुवागढी नाकालाई नै प्राथमिकतामा राखेर नेपालसँगको मुख्य व्यापारिक नाका बनाउने र सोही नाकाबाट नेपाल जोड्ने रेलमार्ग निर्माणको समेत चर्चा गरिरहेको चीनले नेपालको निकै दबाबपछि मात्र बन्द भएको तातोपानी नाका खोलेको हो । खासा व्यापारका नाममा पचासौँ वर्षदेखि चर्चामा रहेको यो नाका बन्द हुँदाकै बखत नेपालले भारतले लगाएको नाकाबन्दी सामना गरेको थियो । रसुवागढी नाकासम्म आउने–जाने सडक भरपर्दो नभइसकेको सन्दर्भमा तातोपानी नाका पनि सञ्चालनमा नआउँदा नेपालले बाह्य सम्पर्कमा ठूलो अवरोध सामना गर्नुपरेको थियो । त्यसैले यसको महत्व केवल स्थानीय तहको आर्थिक कारोबार र रोजगारी सिर्जनामा मात्र होइन, नेपालको आत्मसम्मानसँग पनि जोडिएको छ ।

तातोपानी नाका खोलिएपनि पहिले जसरी मानिसहरु जाने र आउने भएन । निश्चित कन्टेनरहर माथि जाने र सामन ल्याउने कामका लागि मात्रै यो नाका सुचारु भयो । जे भएपनि रसुवा तथा भारतको कलकताबाट चाइनीज सामान आयात गरिरहेका व्यापारीहरुलाई केही मात्रामा राहत भयो । रसुवा र कलकताबाट सामान ल्याउँदा लामो बाटोको यात्रा गर्नुपर्ने र बाटो निकै नै अप्ठेरो रहेको व्यापारीहरुले बताउने गर्दथे ।

भौगोलिक कठिनाइका कारण कतै एक ठाउँ बाटो बिग्रिएमा त्यो नबनेसम्म कन्टेनरहरु त्यत्तिकैै बस्नुपर्ने बाध्यता छ । अझै सडक सुचारु हुन सकेको छैन । यो यो वर्ष मात्रै होइन तातोपानी नाकाले भोग्ने वर्षाै वर्षको समस्या हो ।

अब यो कुरा जनताले मनन् गर्नुपर्ने भएको छ । अब नाका दीर्घकालीन् खोल्छु भनेर भाषण गर्नेहरुलाई त्यसो गर्न दिनुहुन्न । नसक्नेले किन भाषण गर्ने भनेर प्रतिकारका अब जनता उर्लनुको विकल्प छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित