सिन्धुपाल्चोक । नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका पछिल्लो आर्थिक वर्षमा ८० दिन बन्द भएको छ । बाह्रबिसे–तातोपानी सडकखण्डको २६ किलोमिटर दुरीमा सडकमा आइपरेका समस्याका कारण नाका बन्द भएको हो ।
सडककै कारण नेपाल–चीन बीचको व्यापारले गति लिन सकेको छैन । पछिल्लो एक महिनामै चार पटक सडक अवरुद्ध भएको छ । सडक मर्मतका काम सडक डिभिजनमार्फत गरिएको छ ।
८० दिन बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको छ । पछिल्लो वर्षमा भन्सार कार्यालयले लक्ष्य अनुरुप राजस्व उठाउन सकेन । तातोपानी नाकाबाट २१ अर्ब ७३ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिइएको थियो ।
नाका बन्द हुनुको एउटै कारण जीर्ण सडक, बाढीपहिरो र कमजोर पुलले गर्दा हो । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार सडकका कारण नाका बन्द हुँदा राजस्व संकलनमा प्रभाव परेको हो । उनले पटक पटक अवरुद्ध हुने सडकका कारण कार्यालयको कार्यसम्पादनमा समस्या भएको बताए । उनले कोदारीनजिकको पहिरोका कारण सडक अहिले पनि पटक पटक अवरुद्ध भइरहेको जानकारी दिए ।
बाह्रबिसे–तातोपानी सडकखण्डको २६ किलोमिटर दुरीमा पटक पटक बाढी, सडक भासिने र पुल बगाएका घटनाले व्यापारिक गतिविधिमा गम्भीर असर पारिरहेको छ । नेपालतर्फ आएका कन्टेनर लिपिङको सुक्खा बन्दरगाह र कोदारीबिचमै रोकिएका छन् । केरुङ नाका अवरुद्ध भएपछि त्यहाँ पुगेका कन्टेनर तातोपानीतर्फ मोडिने सम्भावना बढेको छ । जसले सडकमा चाप थप बढाउने छ ।
गत असोजको बाढीले पक्की पुल बगाएपछि अस्थायी रूपमा तीन वटा बेलिब्रिज राखिएकामा यसको भारवहन क्षमता २८ टन मात्रै छ । ठुला कन्टेनर आवतजावत गर्न समस्या बनाएको हो ।