सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ इकुमा बिहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार इकुमा सडक माथिबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्णरुपमा अबरुद्ध भएको हो । ‘माथिबाट पहिरो तलबाट भासिएको छ, तलबाट माटो थेगिने वाल नलगाई सडक खुलाउन समस्या रहेको जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले भने, ‘सडक खुलाउने बारेमा सडक विभागसँग समन्वय भइरहेको छ ।’
सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् ।