काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ (साविक मार्मिङ–०१) मा रहेको भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडको नाममा रहेको धितोलाई नेपाल बैंक लिमिटेडले लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ । गोरखापत्र दैनिकमा आज (१, जेठ शुक्रबार) सार्वजिनक सूचना जारी गर्दै लिलामी गर्ने प्रक्रिया अघि बढाएको हो ।
बैंकको कर्जा असुली विभागले जारी गरेको सूचना अनुसार साविक मार्मिङ–१ मा रहेको कुल २७ रोपनी ६ आना जग्गा र त्यसमा बनेको रिसोटर्का संरचना लिलामी प्रक्रिया सूरु गरिएको छ । यसमा कित्ता नम्बर १३६, ५७२, ६७० र १७८ का जग्गाहरू समावेश छन् ।
बैंकले पटक–पटक ताकेता गर्दा पनि रिसोर्टले लिएको व्यापारिक तथा चालु पुँजी कर्जाको सावाँ–ब्याज नतिरेपछि ३५ दिने लिलामीको सूचना निकालेको जनाएको छ । बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को अधिकार प्रयोग गरी यो लिलामी प्रक्रिया अघि बढाएको हो । बैंकले ऋणीलाई २०८३ असार ४ गतेसम्म कर्जा चुक्ता गर्ने अन्तिम मौका भने दिएको छ ।
सूचनाअनुसार यस कर्जाको व्यक्तिगत जमानीकर्ताहरूमा चिन बहादुर रानाभाट (कास्की), समिर कुमार नेपाल (मोरङ), छिरिङ शेर्पा (सिन्धुपाल्चोक) र सुबास प्रधान (नुवाकोट) रहेका छन् । तोकिएको ३५ दिनको म्यादभित्र ऋण राफसाफ नगरे ऋणी र जमानीकर्ता दुवैलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।
लिलामी प्रक्रिया २०८३ असार ५ गते बिहान ११ बजे काठमाडौँ बैंकिङ अफिसमा हुने तय गरिएको छ ।
यदि लिलामीबाट प्राप्त रकमले बैंकको सम्पूर्ण लेना रकम असुल नभएमा ऋणी तथा जमानीकर्ताहरूको अन्य चल–अचल जायजेथाबाट समेत बाँकी रकम असुल उपर गरिने बैंकले चेतावनी दिएको छ ।