जनैपूर्णिमा गन्तव्य भैरवकुण्ड : जति कठिनसाथ पुगिन्छ, पुगेपछि पीडा भुलिन्छ

जनैपूर्णिमा गन्तव्य भैरवकुण्ड : जति कठिनसाथ पुगिन्छ, पुगेपछि पीडा भुलिन्छ

फरक पत्रिका

बिहिबार, साउन २३ २०८२

जनैपूर्णिमा गन्तव्य भैरवकुण्ड : जति कठिनसाथ पुगिन्छ, पुगेपछि पीडा भुलिन्छ

सिन्धुपाल्चोक । आउँदो शनिबार जनैपूर्णिमा हो । यसका लागि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने प्रमुख धार्मिक पर्यटकीयस्थल भैरवकुण्डमा जाने तीर्थालुहरुको भीड छ । कतिपय गएर फर्किसकेका छन् भने केही बाटोमै छन् ।

सिन्धुपाल्चोकको मात्रै नभई यो देशकै महत्वपूर्ण कुण्ड हो भैरबकुण्ड । त्यसैले पनि नेपाल सरकारले भैरवकुण्डलाई सन् २०२० मा घुम्नैपर्ने नेपालका सय गन्तव्यमा राखेको थियो । यो कुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु आस्था र विश्वासको कुण्ड हो । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्ने गर्दछन् ।
समुन्द्री सतहबाट छ हजार ५ सय ६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित भैरवकुण्ड समुन्द्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्दछ । स्थलरुपी नापी महाशाखाको तथ्याङकअनुसार ८४ हजार १९३ वर्गमिटरमा फैलिएको विशाल ताल अति मनमोहक रहेको छ तर तालको गहिराइको मापन भने गरिएको छैन । भैरवकुण्डकै पानीले कुण्डभन्दा केही तल नेपालकै दोस्रो १९८ मिटर अग्लो भैरवकुण्ड छहरा पर्दछ ।

यहाँ पुग्ने जो कोही यहाँको प्राकृतिक सुन्दरतासँग लठ्ठ पर्दछन् । यहाँबाट सम्मुख जुगल हिमशृंखला पर्दछ । प्राकृतिक रुपमा अलौकिक मानिने भैरबकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ ।

अरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भीरको बाटो हिडेर डेढ दुई दिनमा भैरवकुण्ड आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दछ । विशेषगरि जनै पूर्णिमामा यहाँ धर्मावलम्बीहरुको खचाखच हुने गर्दछ । उसो त वि.स. १९११ मा भोटसंगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ । जंगबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ । भैरवकुण्डमा अरनिको राजमागर्गको डाक्लाङ। काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोर भीर हुँदै पनि पुग्न सकिन्छ ।

यहाँ भगवान शिव र पार्वतीको बासस्थान रहेको किवंदन्तीे छ । महादेवको उग्ररुप अर्थात भैरब सम्हारकर्ताका रुपमा मानिन्छ । भगवान शिवको क्रिडास्थलका रुपमा भैरवकुण्डलाई लिने गरेको पाईएकाले भैरवकुण्डमा जनैपूर्णिमाका दिनमा ठुलो मेला लाग्ने गरेको हो ।

किंबदन्ती विश्वासको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुंगाको धार्मिक यात्रा गर्छन् । ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्रु भैरवकुण्ड पुग्छन् । नजिकै अर्काे प्रख्यात स्थल देउढुंगा पनि रहेको छ । कोदारी सडकको चाकु र हिन्दीबाट ४५ किलोमिटर यात्रा गरेपछि दोलखाको बिगुसँग सिमाना जोडिएको देउढुंगा पुगिन्छ । यो वर्ष यी दुई धार्मिकस्थलको हजारौँ भक्तजनले तीर्थयात्रा गरेका छन् ।

आन्तरिक तीर्थालु भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन् । आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् । भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्थे । यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकोले पर्यटक लोभिएका हुन् ।

तिब्बतको खासा तथा कुतीसम्मको भूभाग र काठमाडौको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरु देख्न सकिन्छ । भदौदेखि कार्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ ।

ठण्डा हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔंले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो । त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवा लगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो ।

हरेक वर्ष जनैपूर्णिमामा भैरवकुण्ड जाने धर्मावलम्बीको संख्या बढ्दो छ । यात्राका क्रममा विभिन्न बाधा, अड्चन अनि अभाव छिचोलेर यहाँ पुग्ने गरिन्छ । बीचमा चौरीका गोठहरुमा बास बस्नुपर्ने हुन्छ । पर्यटकहरुलाईथप सहजताका लागि अब भने गाउँपालिकाले बाटामा पानी, तथा बासका लागि पाटीको निर्माण गर्ने योजना ल्याएको छ । पदमार्गको व्यवस्थापनका साथै सडकले जोड्ने लक्ष्य गाउँपालिकाको रहेको छ । केही भने भइसकेको छ ।

नेपालकै प्रख्यात कुण्डमध्ये यो भैरबकुण्ड पनि एक हो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचारप्रसार गरि सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटक पहिलो् रोजाईमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभई सिंगो जिल्ला विश्वमा चिनिइन सहयोग पुग्ने थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित