सिन्धुपाल्चोक । मध्य बर्खाको समयमा गाउँमा रोपाईं चलिरहँदा साँगाचोकका राजन गिरीले सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा चिया पिउँदै सुनाए ‘तीन वर्ष भयो खेतमा रोपाईं नगरेको ।’ गिरीकै कुरामा हो मिलाउँदै अर्का एक व्यक्तिले भने, ‘मेरो पनि उस्तै हो ।’
चिया पिउँदै दुई व्यक्ति थप गफिए । ‘दुःख गरे पनि त्यही सात/आठ मुरी धान फल्छ खेतमा । तर, उत्पादन दिने बेलासम्मको मेहनत अनि लगानी हिसाब गर्दा दोब्बर घाटा हुँदो रहेछ,’ गिरीले भने । उनले बाउसे, रोपाहार, गोरुदेखि गोडमेल र धान भित्र्याउने बेलासम्मको कुरा मात्रै गरेनन् बिऊदेखि मल खरिदसम्म हिसाबको अनुमान लगाए । अनि निष्कर्षमा पुगे, ‘आधा पनि नउठ्ने रहेछ ।’
उसो त उनले परिवारमा खेती गर्ने मान्छे नभएको पनि सुनाए । छोरा विदेशमा भएको र अफूलाई बुढ्यौलीले छोएकोसमेत भन्न भ्याए । उनले गाउँमा धेरैले अचेल खेतबारी बाँझो राखेको सुनाए । ‘अचेल गाउँमा खेती गर्नै छाडिसके,’ उनले भने, ‘युवाहरु कोही विदेश कोही कमाउन सहरतिर गए, गाउँमा बुढाबुढी र बच्चाहरु मात्रै ।’
गोल्चेका पासाङ लामाले पनि गाँउमा रोपाईं गरेका छैनन् । दुई वर्षअघिदेखि उनले रोपाईं नगरेको सुनाए । पहिरोको जोखिममा घर भएकले आफ्नो परिवार नै सदरमुकाममा बसिरहेको उनले बताए । उनले वर्षाैदेखि आफू बसोबास गरेको गाउँ गएर खेतीपाती गर्नसक्ने अवस्था नरहेको बताए । जमिन बाँझै राख्नुपर्दा उनमा कम्ता पीडा छैन । ‘परिवार पाल्ने आधार नै खेती हो,’ उनी भन्छन्, ‘गाउँ जान सके त खेती लगाउँथें ।
‘हामी गाउँघरका मान्छेको सम्पत्ति भनेकै खेतबारी हो, त्यसबाट हुने आम्दानी खान नपाउने भएपछि कम्ता चित्त दुख्या छैन ।’ उनले आफ्नो खेतबारी सबै बाँझै राख्नुपर्दा मन दुखेको सुनाए ।
उनको नाममा भएको सबै जग्गा अहिले बाँझै छ । ‘खेती लगाउन नपाएकोमा साह्रै मन पोल्छ,’ उनी भन्छन्, ‘वर्षाैदेखि आफूले कमाई गरेको जग्गा बाँझै राख्नुपर्दा मन मान्दो रहेनछ ।’ उनको खेतबारीको कमाई वर्षदिनमा २५/२६ भारी मकै र ७ मुरीको हाराहारीमा धान फल्छ । यसैले उनको परिवारको गाँस जोडिन्छ । तर, उब्जाउ गर्नका लागि खेती गर्न नपाएपछि उनी चिन्तित बनेका छन् । बस्ने ठाउँ एकातिर र खेतबारी अर्कातिर हुँदा यो वर्ष जिल्लाका आधाजसो जमिन बाँझै बसेको हो ।
बजार वरपरका किसानहरुले पनि यो वर्ष खेती गरेका छैनन् । सदरमुकाम चौतारा, अरनिको राजमार्गका आसपास पनि अधिकांश खेतीयोग्य जमिन बाँझै छ । धानका लागि उर्वरभूमि मानिएको जलवीर खण्ड, पश्चिमी मेलम्ची भेगमा समेत कतिपय किसानहरुले जमिन बाँझै राखेका छन् । चौतारा बजारबाट हुन्द्रुङ जाने बाटोका अधिकांश खेत बाँझै देखिन्छ । बतासे, स्याउलेका जमिनको अवस्था पनि उस्तै छ । पश्चिमी भेगको गुन्सा, बरुवा, धाप, कोटमा पनि धेरैजसो जमिन बाँझै रहेको स्थानीयवासी बताउँछन् । पीपलडाँडा, कुञ्चोक, नवलपुर, स्याउलेमा पनि धेरै जमिन बाँझो देखिन्छ ।
जिल्लामा १२ हजार २ सय ३५ हेक्टरमा धानबाली लगाइने गरिएको छ । जिल्लामा प्रति हेक्टर २.३३ मेटिक टन धान उत्पादन हुन्छ । जिल्लाका फाँटमा खुमलचार, मकवानपुरे–१ लगायत उन्नत जातका धान बीऊ लाग्दै आएको छ । स्थानीय जातका धान बीऊसमेत लाग्ने भएपनि उन्नत जातका बीऊले ढाक्दै गएको छ । जिल्लाको भीमटार, मांहाकाल, तिपेनी, जलबीर, बतासेलगायत मेलम्ची र इन्द्रावती करिडोरमा अन्य ठाउँको तुलनामा धान उत्पादन बढी गरेको छ ।