भोटेकोशीमा बालिकाको बलात्कारपछि हत्या प्रकरण : ‘टाइगर’ले यसरी पत्ता लगाएको थियो हत्यारा

भोटेकोशीमा बालिकाको बलात्कारपछि हत्या प्रकरण : ‘टाइगर’ले यसरी पत्ता लगाएको थियो हत्यारा

फरक पत्रिका

आइतबार, असार १५ २०८२

भोटेकोशीमा बालिकाको बलात्कारपछि हत्या प्रकरण : ‘टाइगर’ले यसरी पत्ता लगाएको थियो हत्यारा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा असार १० गते एक बालिकाको हत्या भयो । हत्यापछि छ्यादिखोला जङ्गलमा भिरालो ठाउँमा शव फेला पर्यो । ११ वर्षीया निशा तामाङको हत्या भएको थियो । यो सूचना प्रहरीसामू पुग्यो ।
परिवारका सदस्यहरूले निशाको शव भिरमा अड्किएको देखेपछि प्रहरीलाई खबर गरेका हुन् । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीसहितको टोली पुग्यो ।
एसपी कार्कीले अनुसन्धानमा सहयोग लिन काठमाडौँबाट कुकुर झिकाए । तालिम प्राप्त ‘टाइगर’ र ‘रोज’लाई सिन्धुपाल्चोक ल्याइएको थियो । टाइगरले हत्यारा पहिचान गर्यो । अनि पक्राउ परे भोटेकोशी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ ।

प्रहरीकाअनुसार कुकुर घटनास्थलमा पुगुन्जेलसम्म हत्यामा संलग्नहरू घटनास्थल वरिपरि घुमिरहे । हत्यामा संलग्न मध्येका निमा तेन्जिङ तामाङले अनुसन्धान अधिकृतहरूलाई हत्या गरिएको मकैबारी र शव फ्याकेको ठाउँ देखाउँदै भने, ‘मकैबारीमा हत्या गरेर भिरबाट फालेको हुनुपर्छ ।’
घटनाको ‘काल्पनिक व्याख्या’ गरेपछि अनुसन्धान अधिकृतहरूले उनलाई शङ्का गरेर निगरानी गरिरहे । काठमाडौँबाट कुकुर झिकाएपछि निमाले घरबाट कपडा फेरेर निस्किए । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘तालिम प्राप्त कुकुर मगाएपछि निमा कपडा फेरेर निस्किए ।’

टाइगर निमाको घर वरिपरि घुम्न थाल्यो । निमाले अघिल्लो रात लगाएको कपडा घरको एउटा कुनामा राखेका रहेछन् । त्यसपछि अनुसन्धान अधिकृतहरूले निमालाई पक्राउ गरे । त्यसअघि घटनाको काल्पनिक व्याख्या गर्ने निमाले वास्तविकता खुलाउँदै भने, ‘५ जना मिलेर हत्या गरेका हौँ ।’
असार १० मा राति ९ बजेतिर घरबाट बोलाएर आरोपीहरूले घरभन्दा ४ सय मिटर माथिको मकैबारीमा बलात्कार गरेर हत्या गरेका हुन् । मृतक किशोरी पदम बहादुरकी छोरी हुन् । हत्यामा संलग्न आरोपीहरू उनका आफन्त पर्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित