• ट्रेण्डिङ :

अनि पुष्टि भयो–जलवीरकी धनमाया हराएकी हैनन् उनको हत्या भएको हो

अनि पुष्टि भयो–जलवीरकी धनमाया हराएकी हैनन् उनको हत्या भएको हो

किशोर बुढाथोकी

सोमबार, भाद्र ३१ २०८१

अनि पुष्टि भयो–जलवीरकी धनमाया हराएकी हैनन् उनको हत्या भएको हो

सिन्धुपाल्चोक । २६ भदौ २०८१ को साँझ इलाका प्रहरी कार्यालय जलवीर सिन्धुपाल्चोकमा एउटा मौखिक सूचना आयो एक महिला हराइन् । सूचना स्थानीयले बलेफी गाउँपालिका–१ मेलडाँडाकी ५७ वर्षीया धनमाया श्रेष्ठ अघिल्लो दिनदेखि हराएको भन्ने थियो ।

भोलिपल्ट श्रेष्ठकी छोरी पार्वतीले प्रहरीसामू खोजतलासका लागि निवेदन दिइन् । अनि थाल्यो प्रहरीले धनमायाको खोजी ।
भदौ २७ गते प्रहरीले भेट्यो– धनमायाको घरदेखि उत्तरतिर रहेको गोरेटो बाटोदेखि ब्रम्हायणी नदीको डिलसम्म चुँडिएको अवस्थामा ठाउँठाउँमा पोतेका दानाहरु । धागोसहित भेटिएको पोतेका दानाहरु उनै हराएकी धनमायाको भएको स्थानीयले पुष्टि गरे ।

लगत्तै प्रहरीले एक जनालाई शंकाको भरमा नियन्त्रणमा लियो । उनी थिए बलेफी हाइड्रोपावरमा मजदुरका रुपमा कार्यरत रुपन्देही सैनामैना नगरपालिका–९ का ३७ वर्षीय रनबहादुर गाहा ।

प्रहरीले निकै मेहनतका साथ धनमायाको खोजी गरेको थियो । प्रहरीको संख्या बढाई कुकुरसहितको विशेषज्ञ टोलीबाट पोते भेटिएको स्थानको जाँच ग¥यो । नदी किनार भएकाले खोलामा डुबेको हुनसक्ने आशंकामा गोताखोरसमेतको टोलीले खोजी कार्य गरेपनि कतैबाट धनमायाको अवस्थाबारे पत्तो लागेन ।

प्रहरीले खोजी कार्य जारी राखेकै थियो ।

सिन्धुलीबाट सूचना आयो–भदौ २७ गते दिउँसो चार बजेको समयमा सुनकोशी नदीमा एक महिलाको शव फेला परेको र सो शव सनाखत नभएकाले शवगृहमा राखिएको । यो सूचना सिन्धुपाल्चोक प्रहरीले भदौ २९ गते साँझ मात्रै पाएको थियो ।
अनुसन्धानका क्रममा धनमायाको परिवारसँग सम्पर्क गरेर भदौ ३० गते शवको पहिचान खुल्यो । शव उनै धनमायाको थियो । अहिले सो शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभाग पठाइएको छ ।

यता प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएका रनबहादुरसँग सोधपुछ गर्दा उनले यस्तो भने–‘भदौ २५ गते धनमायाकै घरमा उनीसहित म र उनका छोरा कमलदास घरेलु मदिरा सेवन गर्दै थियौं, मदिरा सकियो खाँदाखाँदै । थप मदिरा लिएर म धनमायाको घरमा पुगें त्यतिबेला कमलदास आफ्नै घर फर्किसकेका रहेछन् । म र धनमाया थप मदिरा पिउने क्रममा विवाद भयो । धनमाया घर बाहिर निस्किइन् मैले तान्दै गर्दा उनले घाँटीमा लगाएको माला, पोते चुँडियो मैले लखेट्दै जाँदा ब्रम्हायणी खोलाको डिलमा भेटें अनि उनलाई घचेटीदिएँ उनी खोलामा खसिन् ।’

सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘जलवीरकी धनमाया हराएकी हैनन् उनको हत्या भएको हो ।’ त्यतिसमयसम्म प्रहरी धनमाया हराएको भन्दै खोजी गर्दै थियो । रनबहादुरको यो अभिव्यक्तिपछि प्रहरीले उनको हत्या भएको पुष्टि गरेको हो ।

गाहा यसअघि नेपाल आर्मीमा जागिरे थिए । २०६१ सालमा आर्मीमा छिरेका उनी साढे दुई वर्षपछि जागिर छाडेर भागेका हुन् ।
हत्या स्वीकार गरेका गाहामाथि थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

स्थानीयकाअनुसार धनमायाले धेरै गहना लगाउँथिन् । तर शव फेला पर्दा उनको कानमा मात्रै सुन रहेको प्रहरीले जनाएको छ । धनमायाले लगाएको सुनका गहनामाथि आँखा लागेर हत्यासम्म घटना पुगेको शंकामा प्रहरीले रनबहादुरलाई सोध्दा उनले भनेका थिए–‘म मदिराले लठ्ठ थिएँ, सुन चोर्न सक्ने अवस्थामा थिइँन र मैले सुनमाथि आँखदा लगाएको पनि थिइँन ।’
उनको यो अभिव्यक्तिले आखिर किन भयो हत्या भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार रनबहादुर र धनमायाका छोरा कमलदास साथी–साथी हुन् । उनीहरु प्रायजसो चिया खाजा, खाना अनि मदिरा सँगै खाने गर्दथे । त्यसदिन तीन जनाले सँगै पिएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले धनमायाका छोरा कमलदासलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित