मेलम्ची । संगीता तामाङ अहिले कक्षा ९ मा पढ्छिन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ४ ठूलोथकनीमा बस्छिन् उनी । याे गाउँ मेलम्चीकै विकटमा पर्दछ । विकास, सूचनाको पहुँचले अपेक्षित गति नलिएपछि आफ्नो गाउँलाई उनी मेलम्चीकै कर्णाली भन्ने गर्छिन् ।
उनै संगीता मेलम्ची बजार झरिन् । कारण थियाे मेलम्ची नगरपालिकाले गरेको बालबालिकासँग हेल्लो मेयर उपमेयर कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख र उपप्रमुख भेट्न ।
यही मौकामा उनले गुनासो राखिन्-‘हामी मेलम्चीको कर्णालीका मान्छे । बजारबाट घर निक्कै टाढा छ । हामीले मेलम्ची र देशमा भएका घटनाक्रम समयमै थाहा पाउँदैनाैं । समयमा सूचना नपाउँदा नगरपालिकाबाट पाउने सेवा लिनबाट हामी बञ्चित हुने गरेका छाैं ।
नगरप्रमुख आइतमान तामाङले जवाफ दिए ‘सूचना नपाएकै कारण कुनै पनि नागरिकले सेवा पाउनबाट बञ्चित हुनु हुन्न ।’ उनले याेबारे गम्भीर हुन सम्बन्धित फाँटका कर्मचारीलाई निर्देशन दिए ।
कार्यक्रममा जलवाइदेवी माविकी छात्रा गरिमा भारतीले घेराबार बनाउन बजेट राख्छुभनेको प्रतिबद्धताबारे मेयर तामाङलाई प्रश्न राखिन् । जवाफमा प्रमुख तामाङले भने-” १० लाख रुपैया बजेट विनियोजन भएकोछ ।”
कालिका मावि थाक्लेकी छात्रा श्रेषा तामाङले तामाङ बाहुल्य विद्यालयहरुमा तामाङ भाषा पढाउन आबश्यक रहेको जिज्ञासा राखिन् ।
कार्यक्रममा जनजागृति माविकी छात्रा शर्मिला तामाङले अँग्रेजी भाषाको मोहमा परेर नेपाली भाषा ओझेलमा पर्न लागेको गुनासो गरेपछि उपप्रमुख उमा प्रधानले नेपाली विद्यार्थी पनि विश्वमा बिक्न सकुन् भन्ने उद्देश्यले अँग्रेजी माध्यम सुरु गरेको भए पनि नेपाली भाषा र नेपाली पनलाई ओझेलमा पर्न नदिने बताइन् ।
राजनीतिक दल, निर्वाचनका प्रतिस्पर्धी, संघ संस्थाका प्रतिनिधि र उमेर पुगेका नागरिकसँग मात्र छलफल र भेटघाट हुने परम्परालाई तोड्दै मेलम्ची नगरपालिकाले यस पटक बालबालिकाले नगरपालिकालाई हेर्ने दृष्टिकोण र उनीहरुका जिज्ञासा सुन्ने उद्देश्यले हेलो मेयर उपमेयर कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका सबै वडाबाट सहभागि भएका बालबालिकाले प्रत्यक्ष रुपमा स्थानीय सरकारका प्रमुख र उपप्रमुखसँग संवाद गरे । झण्डै तीन घण्टा चलेको कार्यक्रममा प्रमुख तामाङ र उपप्रमुख प्रधानले धैर्यता साथ बालबालिकाका कुरा सुने र आबश्यक जवाफ दिए ।