सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले सुनकोसी नदि र ब्रम्हायणी नदि किनारमा अवैध रुपमा भण्डारण गरि राखेको बालुवा नियन्त्रण एवं नियमन गर्न पत्र काटेको छ । असोज ६ गते उपाध्यक्ष सरु लामा तामाङको संयोजकत्वमा बसेको राजस्व परामर्श समितिको बैठकले विभिन्न स्थानमा मेशिनको प्रयोग गरि उत्खनन गरि थुपारेको बालुवा बारे सूचना आएपछि उक्त निर्णय गरेको छ ।
अवैध बालुवा, गिट्टी नियमन गर्ने निकायहरु जिल्ला अनुगमन समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई आवश्यक कारबाहीको लागि पत्र पठाएको प्रशासकीय अधिकृत सुर्य बहादुर तामाङले बताए।
स्थानीयका अनुसार वर्षातको समयमा केही व्यक्तिहरुको समुहले रातारात खोलामा स्काइभेटर प्रयोग गरि बलेफी ४ र ५ मा पर्ने सानीटार, छातीखोला,ब्रम्हायणी नदि किनारहरुमा सयौं टृफर अवैध बालुवा निकालेर भण्डारण गरि राखेको बताउँछन् । जानकारी प्राप्त भए अनुसार स्थानीय तह, जिल्ला समन्वय, जिल्ला प्रशासन र प्रहरी प्रशासनले आवश्यक कारबाही नगर्दा खुलेआम लाखौंको कानुन विपरीत अवैध बालुवा थुपारेको छ ।
यस विषयमा जिल्ला समन्वय समितिका सभापति बालकृष्ण श्रेष्ठले विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिए। श्रेष्ठका अनुसार जिल्लाभरका क्रसरहरुमा समेत भण्डारण (स्टक) रहेको गिट्टी, बालुवा प्रमाणित गर्न पत्र काट्दा कोहि पनि नआएकोले बस्ने बैठकले छलफल गरेर आवश्यक कदम चाल्ने भनाइ छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी किरण थापाले यस विषयमा उजुरी संगै नियमन गर्न भनि पत्र प्राप्त भएकोले समन्वय समितिले बोलाएको भोलिको बैठकमा छलफल हुने बताए। जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सूचना प्राप्त भए बमोजिम अवैध क्रियाकलाप हुन नदिने भनाइ छ ।
जिल्लाका दर्जनौं क्रसरहरुमा हजारौं टृप बालुवा, गिट्टी स्टक रहेको समेत प्रमाणित गराएका छैनन् । त्यस्तै सुनकोसी खोला किनारमा समेत २४ सै घन्टा हेभी इस्काइभेटर खडा राखी नियम विपरीत बालुवा उत्खनन गरि भण्डारण गरेर राखेको तस्वीर र भिडियो हाम्रो मिडियालाई प्राप्त भएको छ । सामान्य जनतालाई १ रुपैयाँ राजस्व नछाड्ने सरकारी निकायले खुलेआम नदि दोहन गरि अवैध क्रियाकलाप सञ्चालन गर्दा हेरेर बस्नु शंकास्पद छ ।