• ट्रेण्डिङ :

पानीका मुहान पलाउन नयाँ जुक्ति, गाउँ–गाउँमा रिचार्ज पोखरी

पानीका मुहान पलाउन नयाँ जुक्ति, गाउँ–गाउँमा रिचार्ज पोखरी

फरक पत्रिका

बिहिबार, असोज ३ २०८१

पानीका मुहान पलाउन नयाँ जुक्ति, गाउँ–गाउँमा रिचार्ज पोखरी

सिन्धुपाल्चोक । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले सर्वाधिक क्षति गरेको सिन्धुपाल्चोकमा त्यसपछि पानीका मुहान सुक्दै गएपछि स्थानीय सरकारले रिचार्ज पोखरीको अवधारणा अघि सारेको छ । नयाँ मुल नपलाउने र पुरानो सुक्दै जाने क्रम बढेपछि चौतारा साँगाचोकगढी नगरपालिकाले यस्तो अवधारणा ल्याएको हो ।

भूकम्पले यहाँको जमिन चिरा चिरा पारेको थियो । भूकम्पको झट्काले जमिन हल्लिएपछि मुलहरु सुकेका हुन् । पुरानो मूल सुकेको र नयाँ नपलाएपछि मुल संरक्षणका लागि नगरभित्र रिचार्ज पोखरीहरु निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
पानीको मुल नभएकै कारण गाउँमा पानीको हाहाकार हुन थाल्यो । विशेषगरी डाँडामा बस्ती भएकाहरुले कृषि पेशा गर्ने मात्रै हैन पिउने पानीकै लागि निक्कै टाढा धाउनुपर्ने बाध्यता आएपछि नगरपालिकाले जमिन रिचार्ज गर्ने पोखरीको अवधारणा ल्याएको हो ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिएको छ । पानीको मुहान संरक्षण गर्ने उद्देश्यले नगरपालिकाभित्रका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई नगरपालिकाले तीव्रता दिएको हो ।
हरेक वर्ष नगरपालिकाले नीति तथा कार्यक्रममार्फत नै रिचार्ज पोखरी निर्माणका लागि सम्बोधन गर्दै बजेटसमेत विनियोजन गर्दै आएको छ । जस अनुसार नगरपालिकाभित्र पाँचसय वटा भन्दा बढी रिचार्ज पोखरी निर्माण सम्पन्न भइसकेको नगरपालिकाकी उपप्रमुख सीता थापाले जानकारी दिइन् । । निर्माण सम्पन्न मध्य पनि झण्डै ९० प्रतिशत रिचार्ज पोखरी वडा न ११ मा नै निर्माण भएको र अन्य स्थानमा पनि काम थालिएको नगर उपप्रमुख सीता थापाले बताइन् ।

पानीको मुहान रहेको शीरमा पोखरी खनिएको छ । त्यो पोखरीमा बर्खामा आकाशबाट झरेको पानी जम्मा हुने गर्दछ । भिरालो जमिनमा खसेको पानी बगेर पोखरीमा जम्मा गरिएको हो । पोखरीमा बाह्रैमास पानी भएपछि आसपासका क्षेत्र रसाउने, जमिन सुख्खा नहुने भएकाले मुल पलाउने विश्वास गरिएको उनको भनाइ छ ।

पोखरी निर्माण गरिएका स्थानमा सम्भावित खतरा हुनबाट जोगाउन घेराबारसमेत लगाइने गरिएको छ । काँडेतारको बार लगाएर घेराबार हालिएको हो । जंगली जनावर, बस्ती नजिकका बालबालिकालाई लक्षित गरी बार लगाइएको हो ।

यसरी शीरमा बर्खाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउनका लागि रिचार्ज पोखरी उपयोगी हुने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मूलहरू सुक्न थालेका छन् । निर्मित रिचार्ज पोखरीका कारण पानीको मुहानहरू संरक्षण हुनका साथै लुकेका मूलहरूबाट पानी पलाउने विश्वास स्थानीयलेसमेत गरेका छन् ।

अहिले सार्वजनिक स्थान, सामुदायिक बन र प्रमुख सडक आसपास रिचार्ज पोखरी बनाइएको छ । पछिल्लोपटक वडा न ११ ले चौतारा बन्देऊ सडक खण्डसँग जोडिएका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखेको छ । सडकसँगै रिचार्ज पोखरी निर्माण गर्दा एकातिर पानी पूनर्भरण भएर जमिन रसाउने र अर्कोतर्फ सडकको नालाको भल पोखरीमा भरण हुँदा सडक कटानी न्यूनीकरणमा सघाउ पुग्ने गरि सडक नजिक रिचार्ज पोखरी निर्माण गरिएको वडा अध्यक्ष रोशनराज गिरीले जानकारी दिए । यो सडक छेउमा पर्ने नालीलाई लक्षित गरेर पनि पोखरी निर्माण गरिएको हो ।

त्यसो त भलसँगै बगेर आएको पतकर सङ्कलन गर्दै कम्पोष्ट मल बनाउनका लागि पनि वडा लागिपरेको उनको भनाइ छ । वडा न ११ ले रिचार्ज पोखरी मात्र हैन किसानलाई सहजताका लागि रोपाई पोखरी पनि निर्माण गर्दै आएको छ ।

रिचार्ज पोखरीको प्रभावकारिता बढ्दै गएपछि नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पनि रिचार्ज पोखरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित