सिन्धुपाल्चोक । घर छेउमा उत्तिकै उम्रिएका कफीका दुई बोटले उत्पादन दिएपछि त्यसको बिक्री पनि भयो । एकै बोटमा झण्डै दस वर्षसम्म लगातार करिब १५ केजीका दरले कफी उत्पादन भएपछि चौतारा साँगाचोकगढी नगरपालिका ६ का श्रीराम बुढाथोकी उत्साहित बने अनि व्यवसायिक कफी खेती गर्ने सोच बनाए ।
त्यत्तिकै उम्रिएका बोटबाट आम्दानी भएपछि अहिले उनी कफी खेती गर्न विज्ञ किसानसँग सुझाव लिइरहेका छन् । घर नजिकै बाँझो बसेर खेर गइरहेको बारीलाई प्रयोगमा ल्याएर अहिले उनी कम्तीमा एक सय पचास बोट कफी लगाउने तयारी गरिरहेका छन् । ‘आम्दानी राम्रै हुने रहेछ, अब व्यवसायिक रुपमा खेती गर्न लागेको छु,’ उनी भन्छन्, ‘घर छेउमा उम्रिएका बोटबाट उत्पादन भएको कफी पहिला त्यत्तिकै खेर गएको थियो, केही वर्षदेखि भने बिक्री गर्दै आएको छु । त्यही देखेर अब व्यवसायिक बन्न लागेको हुँ ।’
उसो त उनले अघिल्लो वर्ष पनि पाचास विरुवा रोपेका थिए । तर, तीस बोट मरेपछि उनी खिन्न भए । अहिले भने कफी लगाइरहेका किसानहरुसँग सल्लाह लिएर धेरै मात्रामा बिरुवा रोप्न लागेका हुन् । बारीमा कोदो, मकैको तुलनामा झण्डै पाँच दोब्बर आम्दानी हुने विश्वासका साथ कफी खेती लगाउन लागेको उनले बताए ।
उमेरको गणितले सात दसक कटेका बुढाथोकी अहिले कफी सम्बन्धी अभिमुखीकरण, अन्र्तक्रिया, तालिमहरुमा सहभागी हुन्छन् । चासोपूर्वक कफीको बगैंचा सुधार, रोगका कारण र समाधानबारे जानकारी लिन्छन् । बजारीकारणको पनि समस्या नहुने र अन्य बालीकोे तुलनामा मेहनत पनि कम गर्नुपर्ने भएकाले कफी प्रति आकर्षित भएको उनको भनाइ छ ।
बुढाथोकीको जस्तै चौतारा साँगाचोकगढी नगरपालिका १० कि कल्पना रानामगर पनि व्यवसायिक कफी खेतीतर्फ आकर्षित भएकी छन् । उनी पनि घरको जुठेल्नोमा उम्रेको कफीका बोटबाट आम्दानी भएको देखेपछि अहिले व्यवसायिकतातिर ढल्कन लागेकी हुन् ।
‘जुठेल्नोमा कसरी उम्रियो भन्ने नै थाहा छैन, फल्न थालेपछि कफी सहजै बिक्री भयो,’ उनले भनिन्, ‘दुःख नगर्दा पनि फलले आम्दानी दिएपछि कफीबाट जिविकोपार्जनमा सहज हुने देखेर अहिले व्यवसायिक खेतीतिर लागेको छु ।’ कल्पनाले अहिले आफ्नो बारीमा एक सय बोट कफीका बिरुवा रोपेकी छन् । अघिल्लो वर्ष रोपेको कफीले अबको वर्षदिनमा उत्पादन दिने विश्वास उनमा छ । ‘एउटा बोटबाट कम्तीमा दुई हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ,’ उनले भनिन्, ‘पहिल्यैदेखि खेती गर्दै आउनुभएका किसानसँगका सुझाव र विभिन्न अभिमुखीकरण कार्यक्रममा कफी खेती गर्ने तरिकाबारे जानकारी लिएपछि सहज भएको छ ।’ उनले अहिले लगाएको एक सय बोटबाट लक्ष्यअनुरुप आम्दानी भए अर्काे वर्ष कोदो लगाउने गरेको बारीमा कफी खेती विस्तार गर्ने योजना रहेको सुनाइन् ।
परम्परागत खेती गर्दै आएका किसानहरु अहिले कफी खेतीमा आकर्षित भएका छन् । एकपटक रोपेपछि चालीस वर्षसम्म उत्पादन दिने भएकाले पनि किसानले कफी खेती रोजेका हुन् । पछिल्लोसमय जिल्लामा किसानहरुलाई बगैंचा सुधार, आम्दानीमा बढावा हुने उपाय, रोग लागेका त्यसको समाधानबारे जानकारी दिन थालिएपछि कफी खेतीमा किसानको झुकाव बढेको हो ।
जिल्ला सदरमुकाम चौतारा आसपास अहिले अरनिको कृषि तथा पशुपालन फर्मले किसानहरुलाई व्यवसायिक बनाउन सहजीकरण गरिरहेको छ । फर्मले किसानलाई बिरुवा उपलब्ध गराउनेदेखि कफी खरिद गरिदिनेसमेत गरेको फर्मका व्यबस्थापक दीपेन्द्र घलेले जानकारी दिए । फर्मको आफ्नै ६ हजार बोटको बगैंचा छ । आफैँले निर्माण गरेको नर्सरीबाट बिरुवा उत्पादन गर्ने गरेको उनले बताए ।
‘कफी खेतीमा लाग्नुभएका किसानका लागि कफी रोप्ने, हुर्काउनेदेखि उत्पादन हुनेबेलासम्म निगरानी गर्ने गरेका पनि छौं,’ उनले भने, ‘बिरुवालाई रोग लागेमा त्यसको समाधानका लागि पहल गर्ने र उत्पादन भएको कफी खरिद गरेर किसानलाई प्रोत्साहन गरिरहेका छौं ।’ उनले स्थानीय तहदेखि विभिन्न संस्थाहरुसँगको समन्वयमा सकािनलाई कफी खेतीबारे तालिम अन्तरक्रिया गरेर क्षमता अभिवृद्धि गर्ने गरेको सुनाए ।
कफी खेतीमा किसान लाग्न थालेपछि गाउँमा बाँझो बसेको जमिनको सदुपयोगसमेत भएको छ । कफी खेतीमार्फत किसानलाई अर्थतन्त्रमा अब्बल बनाउन राष्टिय चिया तथा कफी विकास बोर्ड, चिया तथा कफी विकास कार्यालय नुवाकोटले पनि प्राविधिक सहयोग गर्न थालेको छ । कार्यालयका कृषि प्राविधिक एकराज सञ्जेलले गाउँका किसानहरुलाई कफी खेतीको उपयोगिताबारे जानकारी दिइने गरेको बताए । उनले कफीका लागि सिन्धुपाल्चोकको भूबनोट उत्तम रहेकाले यहाँ खेती फस्टाउने दाबी गरे । ‘हामीले किसानलाई प्राविधिक ज्ञान दिने गरेका छौ जसले खेती विस्तार गर्न सहज हुनेछ ।’ उनले भने ।
झण्डै डेढ दसकदेखि सिन्धुपाल्चोकमा उत्पादित कफी जापान, कोरियालगायतका देशमा निर्यात हुँदै आएको छ । कफी बहुवर्षे नगदे बाली भएकाले लामोसमयसम्म उत्पादन दिने हुँदा यसलाई किसानको पेन्सन खेती पनि भन्ने गरिन्छ ।