• ट्रेण्डिङ :

जलवायू परिवर्तनको असरले सिन्धुपाल्चोकका चौंरीपालक किसानलाई चुनौती

जलवायू परिवर्तनको असरले सिन्धुपाल्चोकका चौंरीपालक किसानलाई चुनौती

फरक पत्रिका

बिहिबार, असोज १७ २०८१

जलवायू परिवर्तनको असरले सिन्धुपाल्चोकका चौंरीपालक किसानलाई चुनौती

सिन्धुपाल्चोक । क्रमशः लोप हुँदै जान थालेको हिमाली खर्कमा गरिने चौंरीपालन व्यवसायमाथि थप चुनौती थपिएको छ । जलवायू परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौंरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको हो ।

तीनदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली आजभोलि क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमी, मौसम परिवर्तनजस्ता कारणले घुम्ती गोठमार्फत चौंरी, याक तथा भेँडापालन गर्नेहरु कम हुदै गएका हुन् ।

खर्कमा चौरी र याकसँगै फिरन्ते जीवन बिताउने सिन्धुपाल्चोक जुगल गाउँपालिका तेम्बाथनका पासाङ शेर्पालाई हिमाली क्षेत्रमा आएको मौसमी परिवर्तनका कारण यो पेशामा चुनौती बढेको छ । खर्कहरुमा पहिलेजस्तो घाँस नपाइने भएका कारण चौरीलाई घाँस पु¥याउन हम्मेहम्मे पर्दा चौंरीपालन व्यवसाय संकटमा परेको उनी बताउँछन् ।

पासाङको अनुभवमा हिमाली क्षेत्रमा पहिलेको तुलनामा चिसो छैन । ‘हिमालमा हिउँ छैन, त्यसैले चिसो नभएको हुनसक्छ ।’ उनले भने । पहिले–पहिले बाह्रै मास हिउँले टल्कने हिमालहरु अहिले कालो पहाड बनेको उनले सुनाए । चौंरीका लागि चिसो चाहिने हुँदा आवश्यकअन’सार चिसो नपुग्ने गरेको उनको भनाइ छ । यस्तै कारण पनि ऋण गरेर चौरी पालेको तर वर्षौंसम्म पनि आफू ऋणमुक्त हुन नसकेकोउनी बताउँछन् ।

पाँचपोखरी क्षेत्रको खर्कमा हुर्केर आफ्नो जिविका चौंरी तथा भेडागोठले धानेका लांगर्चेका ईन्द्रबहादुर खड्का भने यो पेशाबाट पलायन भए । छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । चौरी, भेडा धमाधम मर्न थालेपछि ईन्द्रबहादुरको पुस्तौ देखिको आयस्रोतको यो पेशामा पूर्णविराम लागेको हो । पहिलेजस्तो मौसम अनि चौंरी तथा भेंडाका लागि चरनयोग्य सामग्री नहुँदा आफूले पेशाबाटै विश्राम लिएको उनले सुनाए ।

चौंरी, याक र भेंडाका लागि लेकाली क्षेत्रमा जंगलको बीचको खर्कमा गोठ बनाएर त्यही घाँस पानी गर्ने प्रचलन छ । पहिले चौंरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौंरीपालक किसानहरुको भनाइ छ । मौसम चौंरीअनुकुल नभएपछि घाँसको अभाव हुने, अन्य चरनयोग्य प्राकृतिक दाना नपाइने हुँदा चौंरीहरु मर्न थालेको अर्का किसान दलु लामा तामाङ बताउँछन् । विभिन्न रोगले पशुु मर्नुका साथै आफ्नो उत्पादन सस्तोमा किनेर महङ्गोमा बिक्री गर्ने व्यापारीका कारण पुस्तौंदेखि गर्दै आएको यो पेशाप्रति युवा पुस्तामा निराशा बढ्दै गएको तामाङको भनाइ छ ।

वर्षको तीन महिना जाडो समयमा मात्र मानव बस्ती छेउछाउ पुग्ने उनीहरु अधिकांश समय हिमाली खर्कमा बिताउँछन् । सिन्धुपाल्चोकको लेकाली भेगका तामाङ र शेर्पा समुदायका नागरिकको मुख्य आम्दानीको स्रोत चौरीको दूधबाट बन्ने चिज,  छुर्पी, नौनी घिउ तथा भेडाको रौँबाट बन्ने राडीपाखी लगायतका सामाग्री हुन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौरीपालन हुने गरेको छ । स्थानीय पालिकाको कृषि तथा पशु शाखाका अनुसार खर्कमा चौरी तथा भेडापालन गर्ने किसानको संख्या जिल्लामा एक सय ३१ छ । चौरी, याक र भेडाको संरक्षण गर्न सिन्धुपाल्चोकका पालिकाहरुले बीमा कार्यक्रम ल्याएका छन् । वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानीको क्षेत्र बन्नसक्ने यो क्षेत्रलाई व्यावसायिक बनाउन प्रयत्न गरीरहेको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामा बताउँछन् ।

पालिकाहरुको प्रयासका बावजुद पनि सिन्धुपाल्चोकका लेकाली खर्कहरुमा अहिले चौरी गोठ घट्दै गएको छ । अझै परम्परागत रुपमै भइरहेका पशुपालनलाई आधुनिक बनाउन सकिएको छैन । राज्यतहबाट पनि यो पेशालाई प्रोत्साहन नगरिएको हुँदा चाहेर पनि स्थानीयले यो पेशालाई परम्परागत भन्दा माथि लैजान सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित