चौतारा ।बार एशोसियन सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भुपेन्द्र थिङ मंगलवार साँझ हस्याङफस्याङ गर्दै दौडाधुपमा देखिन्थे । कारण-उनलाई संस्थाको बैठक राखेर आफ्नी बुहारी रिना तामाङ थिङलाई वैतनिक वकिलमा एकल सिफारिस गर्नु थियो । सम्साँझ वार कार्यालयमा धमाधम माइन्यूट उठाए । बुहारीको नाम सिफारिस गर्न पदाधिकारीका घरघर पुगेर हस्ताक्षर गर्न लगाए । वारका सबै पदाधिकारीलाई भने यसको सुँइको थिएन । सिन्धुपाल्चोक जिल्ला अदालतमा वैतानिक वकिल नियुक्तिका लागि बुधवार लिखित र मौखिक परिक्षा थियो । अध्यक्ष थिङकी बुहारीसहित अधिवक्ताहरु मधुकर मल्ल,कल्पना न्यौपाने,मोहनराज गिरी र अदालतकै कर्मचारी तिलकबहादुर देउवा प्रतिस्पर्धामा उत्रिएका थिए । सो परिक्षामा तोकिएको मापदण्ड अनुसार परिक्षा लिँदा अधिवक्ता मोहनराज गिरी र तिलक देउवा एक अंकको तलमाथि परेर गिरी सफल र देउवा बैकल्पीक उम्मेदवार घोषित भए । सफल उम्मेदवार गिरीलाई नियुक्ति केहि दिनमा दिने अदालतको तयारी छ । तर थिङकी बुहारीको नामनिशाना रिजल्टमा कतै देखिएन । र,आफ्नी बुहारी रिनालाई वैतनिक वकिलमा नियक्ति दिलाउने वार अध्यक्ष थिङको सपना हावाले उडाइदिएको छ ।