चौतारा । देशभरका पत्रकारलाई यतिवेला चुनावी रौनकले छोएको छ । पटकपटक मिति टार्दै आएको पत्रकार महासंघले अन्ततः निर्वाचन तालिका सार्वजनिक गरेसँगै पत्रकारलाई चुनावी रन्को लागेको हो ।
महासंघको केन्द्रिय समिति,जिल्ला शाखा,प्रदेश,शाखा प्रतिष्ठानहरुमा एकै पटक असार २२ गते नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुँदैछ । सो निर्वाचनबाट आ-आफ्ना संगठन र तिनका पत्रकार नेतालाई कसरी नेतृत्वमा पु-याउन सकिन्छ भनेर मरिहत्ते गरिरहेका छन् । यसपालीको निर्वाचनमा हालको केन्द्रिय सत्तागठबन्धनमा आवद्ध दलनिकट पत्रकार संगठनहरुवीचकै मोर्चा बन्ने पक्का जस्तै छ ।
त्यस्तो एलाइन्स बनेको अवस्थामा माओवादीको प्रेस सेन्टर नेपाल, एमालेको प्रेस चौतारी र एकिकृत समाजवादीको समाजवादी प्रेस संगठनवीच केन्द्रीय महासंघदेखि प्रदेश,जिल्ला र प्रतिष्ठान शाखाहरुमा पदीय भागबण्डा हुने निश्चित छ ।
अघिल्लो कार्यकाल जस्तै यसपटक पनि महासंघमा नेपाली काँग्रेससहित प्रजातान्त्रिक खेमा नेतत्वबाट रिङ आउट हुनेछ । निर्वाचन कार्यतालिका पुनः हेराफेरि नभए असार २२ गते हुने पत्रकार महासंघको निर्वाचनमा जिल्लाजिल्लासम्मै केन्द्रिय गठबन्धनको हावा चल्नेछ । र जिल्लातीर पनि सोहीअनुसारको तयारी पत्रकारले थालेका छन् । राजधानीको सबैभन्दा नजिकको जिल्ला सिन्धुपाल्चोकमा पनि बिभिन्न संगठनमा आवद्ध पत्रकारहरु निर्वाचनको माहौल होमिएका छन् ।
आफ्ना समकक्ष संगठनसँग भेटघाट,छलफल र वार्ताको सिलसिला बढाउँदै लगेका छन् । जम्मा ८९ जना मतदाता रहेको यस जिल्लामा मुख्यगरी काँगे्रसको प्रेस युनियन,एमालेको प्रेस चौतारी र माओवादी केन्द्रको प्रेस सेन्टरकै बर्चश्व छ ।
स्थापनाकाल २०४९ सालपछि झण्डै दुई दशक एकछत्र पत्रकार महासंघ जिल्ला शाखाको नेतृत्व हाँक्दै आएको प्रेस युनियनलाई अघिल्लो कार्यकालदेखि धुलो चटाएका प्रेस चौतारी र प्रेस सेन्टर मिलेर यसपटक पनि पाखा लगाउने उनीहरुको तयारी छ । प्रेस युनियनमा आवद्ध पत्रकारहरु केन्द्रमा झैं जिल्लामा पनि दुई खेमामा प्रष्ट बिभाजित छन् ।
तैपनि नेतृत्वमा उसले यसपल्ट दावी छाड्ने छैन । बरु हार स्वीकार्न तयार हुने तर नेतृत्व किमार्थ नछाड्ने युनियनको चट्टानी अडान छ । हाल युनियनभित्र नेतृत्वका लागि धुर्व दंगाल,दुर्गा आचार्य,सिके चौलागाई समेतको नाम चर्चामा छ । तीमध्ये शसक्त दाबेदारमा दुर्गा आचार्य र धुर्व दंगाल नै हुन् ।
दुर्गा राजधानीमा बसेर पत्रकारितामा सक्रिय छिन् भने धुर्व सुरुवाती चरणबाटै जिल्लामै रहेर सक्रिय पत्रकारिता गर्दै आइरहेका छन् । सुख दुःख जस्तोसुकै परिस्थितीमा पनि मोफसलको पत्रकारितामा रमाइरहेका,यसअघि पटकपटक अबसर नपाएका र शालिन स्वभावका चर्चित पत्रकार दंगाललाई नै टिकट दिनुपर्ने मत युनियनभित्र बलियो ।
त्यसोतः केन्द्रिय नेताहरुसँग सिधा सम्पर्क रहेको,महिला भएको र अरुभन्दा समझदार भूमिका निर्वाह गर्नसक्ने भएकाले दुर्गालाई नेतृत्वमा अघि सार्नुपर्ने अर्को पक्षको लविङ छ । हार्नुपर्नें अवस्थामा यी दुवै पात्रलाई ब्याक गराएर अर्को बेग्लै प्यानल खडा गर्ने तयारी पनि युनियनको छ । टिकट पाउने पात्र को हुन् ? भनेर टुँग्याउन अग्रज पत्रकार ऋषिराम पौडेल,शुर्दशन आचार्य नै काफी हुनेछन् । उनीहरुको रोजाईमा जो पर्छन्,उनै युनियनका आधिकारिक नेता बन्ने देखिन्छ ।
चौतारीमा क-कसको चर्चा ?
प्रेस युनियनपछि साबिक दोस्रो स्थानमा रहँदै आएको प्रेस चौतारी अहिलेको सदस्यता शुद्धिकरण अभियानका कारण तेस्रो स्थानमा धकेलिएको छ । समाचार तयार पार्दासम्म चौतारीमा आवद्ध मतदाता संख्या २३ जना छन् ।
चौतारीमा यस पटक नेतृतवमा शसक्त दाबेदारमध्येका एक हुन्-दिनेश थापा । उनी हालको गठबन्धनबाट जसरी पनि अध्यक्ष पड्काउने दाउमा छन् । यस्तै यसपाली एमाले जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई चुनाव जिताउन मरिमेटेर लागेका दिपक अर्याल हरहालतमा नेतृत्व नछाड्ने अनि आफैलाई पार्टीले टिकट दिनेमा बिश्वस्त छन् ।
थापाले अध्यक्षको चुनावमा श्रेष्ठका प्रत्यासी कमल नेपाललाई खुलेर भोट मागेका थिए । चौतारीमा यी दुबैले नछाड्ने जोडबल गरेकाले मझधार अर्थात बैकल्पिक प्रस्तावस्वरुप हाल महासंघका सचिव बिदुर आचार्यको नाम प्रस्तुत गरिएको छ ।
सेन्टरका पत्रकारहरुको चर्चा पनि सनसनी
अरु पार्टीका पत्रकार नेताहरुको जस्तै माओवादी केन्द्र निकट प्रेस सेन्टरमा समेत बिभिन्न ब्यक्तिहरुको चर्चा हुन थालेको छ । प्रेस सेन्टरबाट यसपटक टीका दाहाल,श्रीधर न्यौपाने र बिदुर गिरीको चर्चा चलेको छ । उनीहरुमध्ये दाहाल शसक्त दाबेदार हुन् ।
संगठन र मातृपार्टीले पनि आफ्नो भूमिका र पत्रकारिताको योगदानलाई कदर गरेर टिकट दिनेमा ढुकक छन् ।एकै पटक,यसैपटक अभियानका साथ लम्किएका दाहाल अहिलेलाई नेतृत्वमा ब्याक हुन चाहेका छैनन् । जिल्लामा रहेर दुई दशकबढी पत्रकारिता गरिसकेका दाहाल निडर,हक्की,प्रखर स्वभाबका छन् । राजनीतिक रुपमा खासै पूर्वाग्रह नराख्ने उनी पछिल्लो पुस्तालाई सघाउने अनि अघिल्लो पुस्तालाई सम्मानभाव राख्छन् ।
वाकपटुतामा अब्बल दाहालको समन्वयकारी भूमिका पनि लोभलाग्दा छ । दाहाल यसअघि महासंघको कोषाध्यक्ष,सहसचिव हुँदै सचिब समेत भइसकेका छन् ।
यस्तै श्रीधर न्यापाने सेन्टरका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा जुगलका सालोभाई हुन् । राजधानीमा पत्रकारिता गर्ने उनले यसैपाली सदस्यता स्थानान्तरण गरी जिल्ला ल्याएका छन् । केन्द्रीय अधयक्ष आफ्नै भिनाजू भएका बेला उतैबाट जिल्ला भाग लगाउँदा सेन्टरको भाग सिन्धुपाल्चोक परेको खण्डमा अधयक्ष पड्काइन्छ की भन्ने उनको दाउ छ ।
बिदुर गिरी प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा जिल्ला संगठन इञ्चार्ज हन् । उनी यसपाली पाएसम्म अध्यक्ष पड्काउने नपाए उपाध्यक्ष वा सचिव नछाड्ने मुडमा रहेका स्रोतले जनाएको छ । अध्यक्षबाहेक उपाध्यक्षमा पनि लगभग यिनै नामबाट चयन हुने संम्भावना छ । सचिव पदका लागि भने युनियनबाट निरोज चौलागाई,रुपक पुरीमध्येबाट छनौट हुने संभावना छ ।
यस्तै प्रेस सेन्टरबाट सुन्दर शिरिष,दिपक खत्री वा विदुर गिरी जानेछन् भने प्रेस चौतारीबाट देबराज सुवेदी वा पुनः हालका सचिव बिदुर आचार्य वा दिपक अर्यालमध्ये एक जना उठाउने स्रोतले दावी गरेको छ । महासंघमा सक्षम नेतृत्व आओस् शुभकमना ।