काठमाडौं । जेनजी आन्दोलनमा गत भदौ २४ गते कारागारबाट भागेका सिन्धुपाल्चोकका फुच्चे भन्ने कुसाङ लामा फेरि पक्राउ परेका छन्। २५ करोड विदेशी मुद्राको भरिया बनेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको भक्तपुरको टोलीले पक्राउ गरेको हो।
केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका लामा काठमाडौंको बौद्ध बस्दै आएका थिए। उनी पुर्पक्षका लागि थुनामा बसिरहेको अवस्थामा भदौ २४ गते भागेको एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए । २०८१ चैत ४ गते काठमाडौंको टोखाबाट प्रहरीले ट्रक र २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको थियो। कार्यालयकै टोलीले नारायणी प्रदेश(७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो। गाडीभित्र फल्सबटम बनाएर १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो। यसको अनुसन्धान विभागले गरी मुद्दा दायर गर्दा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
उनीविरूद्ध राजस्व छली सम्बन्धी कसुरमा अनुसन्धान भएर मुद्दा विचाराधीन छ।