गोली हानेर पक्राउ गरिएको थियो सुनको सिक्री लुट्ने मेलम्चीका फुर्वालाई

गोली हानेर पक्राउ गरिएको थियो सुनको सिक्री लुट्ने मेलम्चीका फुर्वालाई

फरक पत्रिका

मंगलबार, साउन १९ २०८३

गोली हानेर पक्राउ गरिएको थियो सुनको सिक्री लुट्ने मेलम्चीका फुर्वालाई

काठमाडौं । लामो समयदेखि शृङ्खलाबद्ध रूपमा सुनका सिक्री लुटपाट र मोटरसाइकल चोरी गर्दै आएको सङ्गठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी लुटपाट गर्ने गिरोहको नाइकेलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो ।
गिरोहका नाइके आरोपित सिन्धुपाल्चोक मेलम्चीका कर्मा तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास भएपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार विगत पाँच वर्षदेखि शृङ्खलाबद्ध रूपमा डाँका तथा लुटपाटमा संलग्न सिन्धुपाल्चोक मेलम्ची–४ घर भई हाल काठमाडौँको बौद्धमा बस्दै आएका ३४ वर्षका कर्मा तामाङलाई बुढानीलकण्ठ–१३, चुनीखेलस्थित पानी ट्याङ्कीनजिकबाट पक्राउ गरिएको हो ।

पक्राउका क्रममा तामाङले साथमा रहेको खुकुरीले प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले सुरुमा दुई राउन्ड हवाई फायर गरेको थियो । त्यसबाट पनि नियन्त्रणमा नआएपछि आत्मरक्षा र नियन्त्रणका लागि घुँडामुनि एक राउन्ड गोली प्रहार गरिएको परिसरले जनाएको छ । गोली लागेर घाइते भएका तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यसै प्रकरणमा गिरोहका अन्य चार सदस्य पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल–१० का प्रतिमान गोले, पनौतीका पासाङ घिसिङ, भुम्लु–९ का मनोज तामाङ तथा कास्कीको सराङकोटका आले गुरुङ छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट गिरोहले मुख्यतः महिला र ज्येष्ठ नागरिकलाई पछ्याएर सुनका सिक्री लुट्ने गरेको खुलेको छ । उनीहरूले २२० सिसी क्षमताका पल्सर मोटरसाइकल चोरी गरी त्यसमा नक्कली नम्बर प्लेट जडान गरेर लुटपाट गर्ने र घटना सम्पन्न भएपछि नम्बर प्लेट तथा बाहिरी स्वरूप परिवर्तन गरी मोटरसाइकल बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित