साढे दुई सातादेखि ठप्प कोदारी सडक, मन्त्रीले ज्ञापनपत्र बुझे तर समस्या बुझेनन्

साढे दुई सातादेखि ठप्प कोदारी सडक, मन्त्रीले ज्ञापनपत्र बुझे तर समस्या बुझेनन्

फरक पत्रिका

आइतबार, साउन १७ २०८३

साढे दुई सातादेखि ठप्प कोदारी सडक, मन्त्रीले ज्ञापनपत्र बुझे तर समस्या बुझेनन्

सिन्धुपाल्चोक । अवरुद्ध भएको साढे दुई साता बित्दासमेत चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने बाह्रबिसे–तातोपानी सडक अझै खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा चीनबाट हुने आयात व्यापार ठप्प छ ।
गत साता अनुगमनका लागि भन्दै डाक्लाङ र इको क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसहितको टोली पुगेका थिए । उनीहरुले त्यहाँको अवस्था हेरे अनि फर्किए । तर समस्या समाधानका लागि कुनै पहल गरेनन् । यसैले तातोपानी नाकाबाट हुने कारोबार ठप्प भएको हो ।
मन्त्रीसामू भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले मन्त्री लम्सालसामू यहाँको वस्तुस्थितिबारे जानकारी गराए । मन्त्री लम्साललाई ज्ञापनपत्र बुझाउँदै सम्पूर्ण समस्या जानकारी गराएको हो । यहाँको समस्या, जोखिम, बस्ती स्थानान्तरण गरिनुपर्ने विषय, अर्बाैको राजस्व संकलन गर्ने नाका, स्थानीय अनि व्यवसायीको अविगतबारे ज्ञापनपत्रसँगै जानकारी गराएपनि साता बित्दासमेत त्यसको कुनै सुनुवाई भएको छैन ।
मन्त्रीहरु त्यहाँ पुग्दा व्यवसायी, स्थानीयले पनि आफ्नो समस्या सुनाएका थिए । र सडक खुलाएर नाका सञ्चालनका लागि पहल गर्न अनुरोध गरेका थिए । तर, मन्त्रीले चासो देखाएजस्तो मात्रै गरेको एक स्थानीय बताउँछन् ।
’मन्त्रीज्यू, यो सडक कहिले बन्छ, समयमा टेन्डर किन नगरेको, बर्खा लागेपछि तातेर हुन्छ ? हामीले अझै कति समय यस्तो पीडा सहनुपर्ने हो ?’ भोटेकोशी गाउँपालिका–१ का मुके शेर्पाले मन्त्री लम्सालसँग प्रश्न गरका थिए ।
पहिरोका कारण डाक्लाङ क्षेत्रमा ४२ घर उच्च जोखिममा छन् । पहिरोले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको भन्द स्थानीयले तत्काल दीर्घकालीन समाधानको माग गरेका थिए । जवाफमा मन्त्री लम्सालले बस्ती जोखिममा राखेर कुनै पनि काम गर्न नसकिने आश्वासन दिँदै आवश्यक निर्णय लिएर समस्या समाधानतर्फ अघि बढ्ने बताए पनि अझै पहलकदमी हुन नसकेको शेर्पा बताउँछन् । ’गाउँ सार्नुपर्ने अवस्था छ भने त्यसका लागि निर्णय गर्नुपर्छ । विपद्को जोखिमलाई बेवास्ता गरेर बस्न मिल्दैन,’ मन्त्री लम्सालले भनेका थिए । स्थानीयले सडकको दुरावस्था, पहिरोको जोखिम र व्यापार ठप्प भएको बारे असन्तुष्टि व्यक्त गरे ।
उक्त सडक मर्मतका लागि गत आर्थिक वर्षमै ४८ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो।तर चीन सरकारले सडक निर्माण गर्ने जनाउँदै सरकारले गत बैशाखमा नेपाली ठेकेदारसँगको सम्झौता रद्द गरेको थियो।काम सुरु गरिसकेको ठेकेदारलाई सरकारले ५४ लाख रुपैयाँ भुक्तानी दिएको थियो ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले सडक खुलाउन सरकारी प्रयास अत्यन्त कमजोर भएको आरोप लगाए ।सडक अवरुद्ध हुँदा नेपाल मात्र होइन, चिनियाँ गोदाम र सडकमा थन्किएका छन् । सडक अवरुद्ध हुँदा नेपाल मात्र होइन, चिनियाँ गोदाम र सडकमा थन्किएका मालसामानसमेत नेपाल भित्र्याउन समस्या भएको उनले फरकपत्रिकालाई जानकारी दिए । सवारीसाधन मात्रै नभइ पैदलयात्रुसमेत जोखिममा रहेकाले उनले तत्काल सडक सूचारु हुनेपर्नेमा जोड दिए ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले तातोपानी नाकाअन्तर्गत इको र डाक्लाङ क्षेत्रमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा नेपाल–चीन व्यापार, स्थानीय जनजीवन, पर्यटन, ढुवानी व्यवसाय, मजदुर तथा व्यवसायीहरू गम्भीर रूपमा प्रभावित भएको बताए ।
।सडकमाथिको बस्ती पहिरोले तानिरहेको छ भने तलबाट भोटेकोशी नदीले कटान गरिरहेकाले जोखिम झन् बढ्दै गएको छ । चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले सामान्य मर्मतले सडक सञ्चालन गर्न नसकिने र डिभिजन कार्यालयसँग ठूलो पहिरो व्यवस्थापन गर्ने क्षमता नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित