हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्नका लागि प्रदेश सभा सचिवालयमा विभिन्न दस्तावेजहरु पेस गरेको छ।
राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले पार्टीको विधान र संसदीय मर्यादाको गम्भीर उल्लङ्घन गरेको दाबी गर्दै विभिन्न कागजासहितको दस्तावेज पेस गरेकी हुन् । उपसभामुख इन्दिरा चापागाईंलाई बुझाएको उक्त कागजातमा कानूनी र राजनीतिक प्रमाणहरु रहेको राप्रपाको दावी छ ।
प्रमुख सचेतक तामाङले उपसभामुख इन्दिरालाई बुझाएको विभिन्न डकुमेन्टमा पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको पत्र, संसदीय दलका नेता उद्धव थापालाई सोधिएको स्पष्टिकरणको पत्र, अनुशासन समितिले उनलाई सांसद पदबाट निष्कासन गर्न र पार्टीको साधारण सदस्यताबाट समेत २ वर्षका लागि निलम्बन गर्न सिफारिस गरेको विवरण, प्रदेश प्रमुखलाई यसअघि नै पठाएको पत्र, विभिन्न बैठकका निर्णयको प्रतिलिपीलगायत छन् । राप्रपाले थापालाई पदमुक्त गराउन प्रमाणका रूपमा यी कागजातहरु पेस गरेको राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले जानकारी दिइन् । राप्रपाले यी सबै प्रमाणहरूका आधारमा थापा अब बागमती प्रदेश सभा सदस्य रहन अयोग्य भइसकेको दाबी गरेको छ।
