भीमफेदी । ‘छुटेपछि देश’ शीर्षकको कविताले भीमफेदी गाउँपालिकामा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।
जुम्लाको गुठचौर गाउँपालिका-४ का हेमप्रकाश मञ्जिलले प्रस्तुत गरेको उक्त कविताले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको हो ।
साहित्यकार तुल्सी थापाको स्मृति दिवसका अवसरमा भीमफेदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा देश प्रेम, समसामयिक समाज र मानवीय संवेदनाका विषय समेटिएका कविता प्रस्तुत भएका थिए।
प्रतियोगितामा सर्लाहीको लालबन्दी नगरपालिका-४ का सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ कविता दोस्रो भयो । घिमिरेले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
झापाको अर्जुनधारा नगरपालिका-५ का योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय हुँदै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
यस्तै, काठमाडौंकी चेतना शर्माको ‘रातो क्यानभास’ र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का धीरज नाथको ‘बगैँचा’ कविताले प्रोत्साहन पुरस्कार पाए । उनीहरूले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले पुरस्कार वितरण गरे ।