सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशनमा ५३ जनाले रक्तदान गरेका छन् । अधिवेशनको अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) सिन्धुपाल्चोकको आयोजनामा, राष्ट्रिय स्वतन्त्र पार्टी चौतारा साँगाचोकगढी नगर समितिको सहआयोजनामा तथा चौतारा रक्तसञ्चार सेवा केन्द्रको समन्वयमा सम्पन्न कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । रक्तदातामध्ये ३ जना महिला र ५० जना पुरुष रहेका थिए ।
चौतारामा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य भरत पराजुली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । प्रमुख अतिथि पराजुलीले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो मानवीय कार्य भएको उल्लेख गर्दै स्वस्थ नागरिकलाई नियमित रक्तदान गर्न आग्रह गरे । उनले रक्तको अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा दलका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा, स्थानीयवासी तथा स्वेच्छिक रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा ग्रहण गर्दै भविष्यमा पनि यस्ता अभियानमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।