सचिता बुढाथोकी : पत्रकारिताको सपना देख्ने युवतीका लागि प्रेरणाको स्रोत

सचिता बुढाथोकी : पत्रकारिताको सपना देख्ने युवतीका लागि प्रेरणाको स्रोत

फरक पत्रिका

बिहिबार, असार १९ २०८२

सचिता बुढाथोकी : पत्रकारिताको सपना देख्ने युवतीका लागि प्रेरणाको स्रोत

काठमाडौं । पत्रकारिता क्षेत्रमा महिला सहभागिता उल्लेखनीय रुपमा बढिरहेको छ। अवसर पाउँदा महिलाले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वास समाजमा बलियो हुँदै जाँदा यसले महिला पत्रकारका लागि सकारात्मक वातावरण तयार गरिदिएको छ।

यही सन्दर्भमा, सर्लाहीको ईश्वरपुर घर भई हाल काठमाडौंमा कार्यरत पत्रकार सचिता बुढाथोकीले आफ्नो छुट्टै पहिचान बनाउँदै लाएकदारीपूर्ण यात्रा तय गरेकी छन्। बुढाथोकीले झन्डै १४ वर्षअघि सर्लाहीको एकता एफएममार्फत पत्रकारिता यात्रा प्रारम्भ गरेकी थिइन्। प्रारम्भमा रेडियो पत्रकारिताबाट सुरु गरेकी उनले केही समयमै टेलिभिजन पत्रकारितामा आफ्नो क्षमता प्रमाणित गरिन्। हाल उनी राजधानीमा अवस्थित माउन्टेन टेलिभिजनमा समाचार वाचिका तथा कार्यक्रम सञ्चालकको रूपमा कार्यरत छिन्।

समाचार वाचनदेखि स्टुडियो कार्यक्रम प्रस्तुति, विशेष अन्तर्वार्ता, विश्लेषणात्मक खालका बहस र स्टेज कार्यक्रमहरूसम्म पनि उनी समान रूपमा सक्रिय छिन्। उनका अनुसार, ‘समाचार पढ्दा होस् वा कार्यक्रम सञ्चालन गर्दा, जब दर्शकको माया र सम्मान पाउँछु, त्यो क्षण अत्यन्त प्रेरणादायी हुन्छ। यही कारणले पत्रकारिताप्रति मेरो लगाव झन् गहिरिँदै गएको छ।’

बुढाथोकीको आवाजमा स्पष्टता, प्रस्तुतिमा आत्मविश्वास, र कार्यक्रम सञ्चालनमा विषयवस्तुको पकड बलियो रहेको सहकर्मीहरू बताउँछन्। पत्रकारिता मात्र नभई उनी विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्टेज कार्यक्रममा समेत सक्रिय भूमिका निभाउँदै आएकी छन्। उनको निरन्तरता, निष्ठा र मेहनतले पत्रकारिता क्षेत्रमा महिलाले अग्रणी भूमिका निर्वाह गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छ।

उनी भन्छिन्, ‘महिला भएकै कारण कहिलेकाहीँ चुनौतीहरू पनि सामना गर्नुपर्छ, तर आफूप्रति विश्वास र दर्शक–श्रोताको साथले ती चुनौतीहरू पार गर्न सजिलो हुन्छ।’ स्थानीय रेडियोबाट सुरु भएको यात्रा आज राजधानीको मिडिया हाउससम्म आइपुगेको छ। यो यात्रा उनीजस्तै पत्रकारिताको सपना देख्ने महिला र युवतीका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित