काठमाडौं । नेपाल ट्रस्टको जग्गा व्यक्ति र संस्थाले आफू अनुकुल प्रयोग गरेको भेटिएको छ । सिन्धुपाल्चोकमा रहेको सहित साढे २१ हजार रोपनी जग्गा दुरुपयोग भइरहेको पाइएको हो ।
सरकारले नेपाल ट्रस्ट ऐन, २०६४ जारी गर्दै ट्रस्टको अचल सम्पत्ति कुनै व्यक्ति विशेष वा संस्थाको नाममा दर्ता हुन नसक्ने उल्लेखको थियो । तर, अधिकांश जग्गा व्यक्तिको नाममा नामसारी गरेको पाइएको हो । सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपालस्थित २७ रोपनी १३ आना जग्गासमेत दुरुपयोग भएको जनाइएको छ ।
नेपाल ट्रस्टको नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएको काठमाडौंको मातातीर्थ, थानकोट, सतुङ्गल तथा इचङ्गुमा रहेको एक सय ७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भएको छ । सो जग्गा २०६४ भदौ २६ गते नेपाल सरकार अर्थात् मन्त्रिपरिषद्ले निर्णय गरी उनीहरूलाई प्रयोग गर्न दिएको हो । ऐनको व्यवस्था विपरीत ट्रस्टको सम्पत्ति मोहीको नाममा दर्ता भएकोमा उक्त जग्गा छानबिन गरी ट्रस्टको नाममा स्वामित्व हस्तान्तरण नगरी दुरुपयोग गरिएकोे महालेखाले ६२औँ प्रतिवेदनमा उल्लेख गरेको छ ।
ट्रस्टले धादिङ, ललितपुर, सिन्धुपाल्चोक र काठमाडौंमा रहेको जग्गा संरक्षण समेत गर्न नसकेको महालेखाले जनाएको छ । ट्रस्टको नाममा रहेको धादिङ जिल्ला धुनीवेशी नगरपालिका (साविकको छत्रेदेउराली गाउँ विकास समिति – ८) स्थित १५ हजार एक सय एक रोपनी ११ आना रोपनी ललितपुर जिल्ला गोदावरी नगरपालिका, गोदामचौरस्थित आठ रोपनी १० आना (८–१०–३–०) रोपनी, सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपालस्थित २७ रोपनी १३ आना, काठमाडौं महागरपालिका– १६ बालाजु बाइपास क्षेत्रको एक सय २२ रोपनी १० आनालगायत विभिन्न आठ स्थानका १५ हजार पाँच सय दुई रोपनी दुई आनाभन्दा बढी जग्गाको सीमाङ्कन र संरक्षणसम्बन्धी कार्य गरेको देखिँदैन ।