रसुवा बाढी:चौताराले ३५ लाख सहयोग गर्ने, नगरका बेपत्ता तथा मृतकका परिवारलाई तत्कालै डेढ लाख राहत

रसुवा बाढी:चौताराले ३५ लाख सहयोग गर्ने, नगरका बेपत्ता तथा मृतकका परिवारलाई तत्कालै डेढ लाख राहत

फरक पत्रिका

बुधबार, भाद्र १७ २०८३

रसुवा बाढी:चौताराले ३५ लाख सहयोग गर्ने, नगरका बेपत्ता तथा मृतकका परिवारलाई तत्कालै डेढ लाख राहत

सिन्धुपाल्चोक । रसुवा बाढी प्रभावितका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्दै सहयोग गर्न लागेको हो ।
सहयोग रकम जनप्रतिनिधि तथा नगरपालिका र मातहतका कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी तलब कट्टा तथा अन्य सहयोग संकलन गरेर राहत दिन लागिएको नगरपालिकाले जनाएको छ । जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरुको को २०८३ भदौ महिनाको पारिश्रमिकबाट तह तथा श्रेणीअनुसार ३ देखि १० दिनसम्मको तलब–भत्ता कट्टा गरी उक्त रकम संकलन गरिने नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

नगरपालिकाले आफ्नै क्षेत्रका १२ जना नागरिक बाढी प्रभावित रसुवा क्षेत्रमा कामको सिलसिलामा रहेका र हालसम्म अज्ञात अवस्थामा रहेको जनाएको छ। उनीहरूको खोज तथा उद्धारका लागि केन्द्रीय कमाण्ड पोस्टसँग निरन्तर समन्वय भइरहेको नगरपालिकाले जनाएको छ।

सम्भावित मानवीय क्षतिलाई ध्यानमा राख्दै नगरपालिकाले बेपत्ता वा मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाले विपद्को यस कठिन समयमा नागरिक समाज, निजी क्षेत्र, विभिन्न संघ–संस्था तथा आम नगरवासीलाई राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग तथा समन्वय गर्न अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित