मेलम्ची बाढीको ३ वर्ष : सुरक्षित बसोबासको पर्खाइमा छन् पीडित

मेलम्ची बाढीको ३ वर्ष : सुरक्षित बसोबासको पर्खाइमा छन् पीडित

फरक पत्रिका

शनिबार, असार २ २०८१

मेलम्ची बाढीको ३ वर्ष : सुरक्षित बसोबासको पर्खाइमा छन् पीडित

सिन्धुपाल्चोक । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज तिन वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो भने हजारौँ नागरिक विस्थापित हुन पुगेका थिए ।

बाढीले क्षति पुर्‍याएको तिन वर्ष बिते पनि धेरै प्रभावित  अस्थायी टहरामै बसिरहेका छन् । उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन् । मेलम्ची बाढी प्रभावित  मेलम्चीका सन्तोषी श्रेष्ठ यो बर्ष धेरै पानी पर्ने भनिएकाले आनन्दले बस्न नपाउने भएको दुखेसो गर्नुहुन्छ । त्यस्तै मेलम्ची-११ का रमेश श्रेष्ठ बल्ल -बल्ल गाँउमा घर बनाएपनि सरकारले दिने भनेको अनुदान रकम प्राप्त नभएको गुनासो गर्नुहुन्छ ।

तिन  वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बाढि पीडितको भनाइ छ । बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन् । नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ । नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्चीका दशरथ दनुवारले  गुनासो गर्नुभयो ।

बाढीका कारण हेलम्बु गाउँपालिकामा  तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म १०० जनाले मात्र पहिलो किस्ता पाएका छन् । त्यस्तै १५ जनाले जग्गा खरिद गरेका छन् । मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ४४ लाभग्राहीमध्ये दुई सय ३२ जनाले पहिलो, ७० जनाले दोस्रो र ८जनाले मात्र अन्तिम किस्ता पाएका छन् ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ८४ जना लाभग्राही छन् भने ९२ जनाले खरिद जग्गा गरेका पालिकाले जनाएको छ  । सरकारले जग्गा नभएकालाई खरिद गर्न बढीमा ३ लाख र घर बनाउन ५ लाख तथा  अस्थायी आवास बनाउन ५० हजार  दिने बताएको छ ।

बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तहले काम गरेपनि प्रदेश र केन्द्र सरकारले त्यति चासो नदिएको  पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । उहाँले कार्यविधि परिवर्तनले समस्या भएको तथा  समयमै प्रदेश र केन्द्र सरकारले रकम नदिएको बताउनुभयो ।

नदी नियन्त्रण र व्यवस्थापनका लागि स्थानीय तहको मात्रै प्रयासले नसकिने बाढी प्रभावित मेलम्ची नगर प्रमुख आइतमान तामाङको दाबी छ । केन्द्र र प्रदेश सरकारले हेलम्बु मेलम्ची बाढीलाई नजरअन्दाज गरेपनि  स्थानीय तहले आफ्नो कर्तव्य पुरा गरिरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ । विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना प्रभाबित भएका थिए

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित