सिन्धुपाल्चोक । २६ बबरमहल (३८७) (प्रहरीले राखेको नाम) काठमाडौं चावाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्थिन् । निम्न आयस्रोत भएको र अभिभावकले विद्यालय पनि पठाउन नसकेपछि उनी गलैंचा कारखानामा काम गरेर बसेकी हुन् ।
कामकै सिलसिलामा उनीसँग एक दिन चमारे भन्ने चमार तामाङको भेट भयो । चमारको घर सिन्धुपाल्चोकको हिमाली गाउँ भोटेनाम्लाङ गाउँमा पर्छ । गलैंचा कारखानामा काम गरिराखेको अवस्थामा चमारले उनलाई भेटेका हुन् । चमारले उनलाई अनेक प्रलोभन देखाए । यो काम गर्दा टि.बी.रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाए । उनी सहजै फसिन् ।
चमारको साथ लागेर उनी काठमाडौंबाट हिडिन् । प्रहरी अनुसन्धानअनुसार उनी २०४४ पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बई पुगेकी हुन् । प्रहरीकाअनुसार मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले कोठी सञ्चालन गर्दीरहिछिन् । चमारले उनलाई त्यहाँ पुर्याए । सञ्चालन भइरहेको कोठी नं.७ मा पु¥याई चमारले भारतीय रु. ८०,००० (असी हजार)मा बेचबिखन गरे । अनि उनी फर्किए ।
२६ बबरमहल (३८७) (प्रहरीले राखेको नाम) ले प्रहरीसामू वेश्यालयमा जबरजस्ती ७ वर्ष सम्म वेश्यावृत्तिको काममा लगाउने क्रममा टि.बी. रोग लागेपछि २०५१ साल माघमा नेपाल फिर्ता भएको बताएकी छिन् । उनी नेपाल फिर्ता भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा २०५२ फागुन १ गते जाहेरी दिइन् । अनि थाल्यो प्रहरीले प्रारम्भिक अनुसन्धान ।
अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुग्यो मुद्दा । २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाण्डौमा मुद्दा दर्ता भएको हो । सो मुद्दा थप अनुसन्धानको लागि २०७७ असोज २० गते यस मानव बेचबिखन अनुसन्धान ब्युरोमा सक्कल मिसिल पुग्यो ।
व्यूरो फरार प्रतिवादी समात्न केन्द्रीत भएको व्यूरोका सूचना अधिकारी नरेन्द्र कुवँरले फरकपत्रिकालाई बताए । खोजतलास गर्ने क्रममा यस ब्युरोबाट खटिएको प्रहरी टोलीले चमारे भन्ने चमार तामाङलाई २०८२ वैशाख ११ गते उनकै घरबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई आवश्यक अनुसन्धान भईरहेको छ ।