मेलम्ची बाढीको साता दिनसम्म हेलम्बुले जे पीडा भोग्यो

मेलम्ची बाढीको साता दिनसम्म हेलम्बुले जे पीडा भोग्यो

फरक पत्रिका

मंगलबार, असार ५ २०८१

मेलम्ची बाढीको साता दिनसम्म हेलम्बुले जे पीडा भोग्यो

सिन्धुपाल्चोक । १ असार २०७८ को साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो । बाढीले पाँच सय बढी घरटहरा बगायो । नदी करिडोरमा रहेका केही व्यक्ति बगायो ।
हेलम्बुको शीर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहतिको बाढीले त्यति मात्रै गरेन अरबौं लगानी गरेर बनाइएका फर्म, रिसोर्ट पनि खोलामा विलय गरायो ।
बाढीले हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकालाई क्षति गेको थियो ।
बाढी आएको भोलिपल्टैदेखि मेलम्चीमा राहतहरु पुगे । स्वास्थ्य उपचार, विस्थापितका लागि गाँस र बासको व्यवस्था गरिन सुरु भइसकेको थियो ।
तर, नदीले सडक कटान गरेको हेलम्बु साँच्चै एक्लिएको थियो । बाढी आएपछि हेलम्बु कोही पुग्न सकेका थिएनन् । उताको स्थानीय उतै राकिएका थिए भने मेलम्ची हुँदै त्यहाँ पुग्न सक्ने अवस्था थिएन ।
बाढी आएको सातौं दिन भीर, पहरा छामछुम गर्दै केही सञ्चारकर्मी हेलम्बुको किउलसम्म पुगेका थिए । त्यहाँ सम्मको अवस्था देख्दा पनि हेलम्बु अझै तगिँ्रने अवस्थामा थिएन । बाढीले सडक सञ्जाल टुटाएपछि हेलम्बु एक्लिएको हो ।

भीर, पहरामा अल्झेका जराजुरी अनि लहरा समाउँदै हेलम्बु पुगेका जाे काेहीप्रति बाढीपीडितले राहत सामग्री आश गरेकाे सहजै अनुमान लगाउन सकिन्थ्याे । केही बारीका पाटामा भात पकाएर दाएर बर्खाकाे रात पनि बारीमै गुजार्न बाध्य भएको देखियाे ।

कतै सेनाले टेण्ट, त्रिपाल ठड्याउँदै पनि थियाे तर त्याे तयारी हेर्दा लाग्थ्यो पीडितमध्ये ५% लाई पनि पुर्याउन सम्भव हुने देखिदैनथ्याे ।

सडक सबै बाढीले कटान गरेको  । बिजुलीका तारहरू भीर, पाखामै लत्रिरहेकाे ।

समग्रमा हेलम्बुवासीले सकसपूर्ण दैनिकी बिताइरहेका थिए । याे पंतिकारकाे आँखाले यही देख्याे ।

ह्योल्मो संस्कृति, कला र धर्मदेखि पर्यटनका लागि प्रख्यात हो ह्योल्मोभूमि हेलम्बु । आर्कषक सिमिसिदाङजस्ता दर्जनौ हिमश्रृंखलाको काखमा रहेको हेलम्बुमा आउने जो कोहीले सुन्दर गाउँको उपमा दिन्थे । तर, मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाको चार गाउँको अस्तित्व नै मेटायो, तटीयक्षेत्रलाई एकै रातमा बगर तुल्याइदियो । बाढीको सतह बढेपछि गाउँ नै बग्ने त्रासमा स्थानीय भागभाग भए ।
बाढीले संयौं रोपनी खेतीयोग्य जमिन नदीमा मिसाइदिएको थियो । हेलम्बुको पहिचान झल्कने ट्राउट व्यवसाय पूर्ण रुपमा बन्द भयो । बाढीले समृद्ध हेलम्बुको यात्रालाई बीचमै राकिदियो । आठ वर्षदेखि हेलम्बुको किउल बगरमा रिसोर्ट सहितको ट्राउट फर्म सञ्चालन गरेर बसेका उत्तममणी भण्डारीसहितको नदि करिडोरमा रहेको आठ वटा फर्म विलय बन्यो । फर्म रहेको स्थान अहिले बगरमा परिणत भएको भण्डारी ट्राउट रिसोर्टका सञ्चालक रहेका उत्तममणीले सञ्चारकर्मीलाई सुनाएका थिए । ‘मेरो आफ्नो मात्रै करिब ६ करोडको हाराहारीका माछा बगाए,’ उनले भनेका थिए, ‘अन्य भौतिक क्षतिको हिसाबकिताब छुट्टै छ ।’ यो रिसोर्टमा काम गर्ने एक कर्मचारीलाई बाढीले बगायो । उनी अझै बेपत्ता छन् । भण्डारीका अनुसार नदि करिडोरमा रहेका ट्राउट फर्मका मात्रै अरब भन्दा बढीको क्षति हुन आउँछ ।

हेलम्बु गाउँपालिका ६ चालिसेका ७० वर्षिय शिवप्रसाद भण्डारी डाँडामा बसेर आफ्नो घरखेत र गाउँलाई बाढीले बगर थपेको हेरिरहेको देखिन्थ्यो ।
बाढीले एकै रातमा उनीसहित चालिसे गाउँको ७ घरसहित पुरै खेत जग्गाको भुभाग बाढीले बगर तुल्यायो । त्यसैमाथि मेलम्ची नदीको कुनाभेगमा रहेको चालिसे गाउँबाट किउल बजार जोड्ने एउटै मात्र झोलुंगे पुल बगाएपछि भागेर जाने अन्य स्थान पनि थिएन । यस्तो लाग्थ्यो बाढी हुत्तिएर आइहाले बाढीलाई ज्यान समर्पण गर्नुपर्ने अवस्था थियो । ‘यही एउटा ज्यान जोगियो, अरु सबै खोलामा हरायो,’ भण्डारीले भनेका थिए, ‘तैपनि रातदिन बाढी उर्लिएर बढेको देख्दा त बाचिएलाजस्तो लाग्दैन ।’
बाढी आएदेखि सातौ दिनसम्म पनि हेलम्बु विजुली र सञ्चारसँग विच्छेद थियो । मेलम्चीको मुहानस्थल हुँदै एक्कासी उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउँ चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार, गणेशे बगर गाउँको सबै संरचना बगायो । झण्डै १८ हजार जनसंख्या भएको हेलम्बुकोको तालामाराङ, चनौटे , किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो ।

राज्यको आँखाले हेलम्बुको पीडा सात दिनसम्म् देखेको थिएन । विस्थापितहरुको विजोक थियो, राहत सामग्रीसमेत अझै अपुग थियो । बाढीले मेलम्ची बजारबाट हेलम्बु जोड्ने करिब ८ किलोमिटर सडकको सिमकुना, तालामाराङ, चनौटे, किउल,तिम्बु तहसनहस बनाएयता हेलम्बु अस्तव्यस्त अवस्थामा रहेको थियो ।
मेलम्ची बजारसँग जोड्ने मुख्य सडक बीचैमा भास्सिएर टुटेपछि सहयोग र व्यवस्थापनमा यहाँका जनप्रतिनिधि, स्थानीय आफै दौडाइमा देखिए । सडक भत्किएकाले आवतजावत गर्नेहरु कष्ट सहेर पैदलबाट ओहोरदोहोर गर्न बाध्य थिए ।

‘बाढीले स्थानीय सरकारले निर्माण गरेका अधिकांश भौतिक संरचनामा क्षति गरेको छ,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भनेका थिए, ‘हेलम्बुको विकास निकै पछाडि धकेलियो ।’ उनले भूकम्पपछिको पुनर्निर्माणले सुन्दर देखिएका बस्तीहरु बाढीले उजाड बनाइदिएको बताए ।
झनै सात दिनसम्म पनि हेलम्बुको आकाशमा हेलिकोप्टर उडिरहन्थे । तर ती हेलि किन आएका हुन् भन्नेबारे गाउँपालिका अध्यक्ष शेर्पा नै अनविज्ञ थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित