चौतारा। सिन्धु युएसए वेलफेयर सोसाईटीले ५ जना विद्यार्थीलाई पढाउने भएकाे छ । साेसाईटीले कक्षा १२ सम्म नि:शुल्क पढाउने भएको हाे। याे शैक्षिक सत्र २०८१ का लागि ५ जनालाई नि:शुल्क पढाउने साेसाईटीले जनाएकाे छ ।
सोसाईटी अमेरिकाको ३१ मार्च २०२४ मा कार्यसमितिको बैठकको निर्णय अनुसार नयाँ बिद्यार्थी भर्ना सम्बन्धी सूचना गत माघ महिनामा जारी गरिएको सोसाईटीका अध्यक्ष सूर्य खड्काले बताए । सोे आधारमा परेका आवेदन छानबिन गरी सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई छनौट गरिएको उनकाे भनाइ छ ।
उनका अनुसार गरिब, पिछडिएका र जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको आभास दिलाउन आउँदो शैक्षिक सत्र २०८१ देखि कक्षा संचालन गराउने गरी ५ जना बालबालिकाहरुलाई छनौट गर्ने निर्णय गरिएको हो ।
छनोट भएकाहरु पाँचपोखरी थाङ्पाल गाउपालिका वडा नं २ का वर्ष १४ का अमन स्याङ्बो तामाङ, मेलम्ची नगरपालिका वडा नं ११ का वर्ष ७ का निकेश तामाङ, मेलम्ची नगरपालिका वडा नं ९ का वर्ष १० का कमल पण्डित, हेलम्बु गाउपालिका वडा नं ३ का वर्ष ८ की देबकी कुमारी श्रेष्ठ र बाह्रबिसे नगरपालिका वडा नं ६ का वर्ष ९ का फुन्जो तामाङ रहेका छन् ।
सामाजिक क्षेत्रमा क्रियाशील अमेरिकामा रहेको सिन्धु युएसए वेलफेयर सोसाईटीले प्रत्येक वर्ष सिन्धुपाल्चोक जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई छनौट गरी सम्मान तथा पुरस्कृत गर्दै आईरहेको छ ।
हालसम्म संस्थाको पहलमा सिन्धुपाल्चोकका अतिविपन्न १९ बालबालिकालाई निजी विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएकोे छ ।