भोटेकोशी गाउँपालिकाले रसुवा बाढीपीडित ७४ परिवारलाई जनही दुई लाख दिने

भोटेकोशी गाउँपालिकाले रसुवा बाढीपीडित ७४ परिवारलाई जनही दुई लाख दिने

फरक पत्रिका

मंगलबार, भाद्र १६ २०८३

भोटेकोशी गाउँपालिकाले रसुवा बाढीपीडित ७४ परिवारलाई जनही दुई लाख दिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवा बाढी पीडितलाई सहयोग गर्ने भएको छ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका ७३ बेपत्ता परिवार र एक मृतक परिवारलाई गाउँपालिकाले राहत स्वरुप नगद प्रदान गर्ने भएको हो । गउँपालिकाले दिने राहत रकम प्रतिपरिवार २ लाख रुपैयाँ रहेको छ ।

भदौ १५ गते बसेको आकस्मिक बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए । बेपत्ता परिवारका बालबालिकाको तत्काल पोषणका लागि खाद्यान्न उपलब्ध गराउने र प्रभावित परिवारलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने निर्णय गाउँपालिकाले गरेको छ। सोमबार बेपत्ता भएका ७३ परिवारका सदस्य तथा उनीहरूको पारिवारिक अवस्थासहितको सम्पूर्ण विवरण संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णयसमेत गरिएको छ।

बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका संरक्षक, अभिभावक वा परिवारका मुख्य व्यक्तिको बैंक खातामार्फत राहत रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सामाजिक संघ–संस्था तथा विभिन्न दातासँग समन्वय गरी बाढीबाट प्रभावित आफ्ना नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन गाउँपालिका निरन्तर लागिरहेको बताए। बाढीका कारण परिवारको मुख्य आम्दानी गर्ने सदस्य नै बेपत्ता भएपछि बालबालिकाको शिक्षा र परिवारको दैनिक जीवनमा समेत गम्भीर समस्या उत्पन्न भएको गाउँपालिकाले जनाएको छ। त्यसैले प्रभावित परिवारका बालबालिकाको शिक्षालाई प्राथमिकतामा राखेर दीर्घकालीन सहयोगको योजना अघि बढाइने अध्यक्ष शेर्पाले जानकारी दिए ।

बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ लाई पहिलो संशोधन गरी २०८३ मा लागू गर्ने निर्णयसमेत गरेको छ।
गाउँपालिकाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता तथा प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित